त्यो दिन नेपाली क्यालेण्डरमा २१ फागुन ०५४ छापिएको थियो । नेपाली राजनीतिमा उचाइ लिइरहेको बेला एमाले विभाजन भएको दिन थियो ।
त्यसबेलाको एमालेमा एउटा कित्तामा थिए, केपी ओली, माधव नेपाल, प्रदीप नेपाल लगायत । अर्को पट्टी थिए, वामदेव गौतम, सहाना प्रधान, सीपी मैनाली लगायत । दुबै पक्षबीच एउटा सन्धिको विषयमा मतान्तर भयो । मतान्तरले उग्र झगडाको आकार लिन केही बेर लागेन । पार्टी फुट्यो । एमाले मुख्यालय बल्खु त्यागेर गौतम लगायत एमालेका अन्य केही नेताहरुले नेकपा माले गठन गरे । बल्खुबाट उनीहरु बागबजार आए । पद्मकन्या कलेजको आडैमा रहेको घरमा नै मालेको मुकाम भयो ।
झगडाको बीउ
त्यसबेला कांग्रेसले सरकारको नेतृत्व गरिरहेको थियो । संयोग कस्तो भने अहिले जस्तै त्यसबेला पनि सिंहदरबारको प्रधानमन्त्रीको कुर्सीमा थिए, यिनै शेरबहादुर देउवा ।
नेपालको प्रधानमन्त्रीको हैसियतमा देउवा र भारतको प्रधानमन्त्रीका रुपमा पीबी नरसिंह रावले सन्धिमा हस्ताक्षर गरे । सोही सन्धिलाई लिएर एमाले विभाजित भयो । ओली र नेपाल पक्ष उक्त विवादास्पद सन्धिको अनुमोदनको पक्षमा थिए भने गौतम पक्ष विपक्षमा । एमालेबाट १७ जनाले सन्धिको पक्षमा प्रतिनिधि सभामा मतदान गरेका थिए । नेपाललाई साथ दिएका थिए, ओलीले । त्यतिनै संख्याका एमाले सांसदहरु अनुमोदनको विपक्षमा रहे । तर गौतम पक्षको केही जोड चलेन । सन्धिमा हस्ताक्षर भएको ८ महिनापछि ४ असोज २०५३ मा उक्त संसद्बाट दुईतिहाइ मतले त्यो महाकाली सन्धि पारित भयो ।
यो त्यही बिन्दु थियो,जसको कारणले ७ महिनापछि एमाले विभाजित नै भयो । रुपमा महाकाली सन्धि एमालेको विभाजनको कारण देखिए पनि सारमा गौतमको उपमहासचिव पद खारेज भएपछि उनको असन्तुष्टि चुलिएको थियो ।
प्रधान अध्यक्ष र गौतम महासचिव रहेको नेकपा माले जन्मियो । ओलीले एमाले छाडेर जानेहरुलाई लक्षित गर्दै तुरुन्त सार्वजनिक टिप्पणी गरे,‘पिलो निचोरिएको छ ।’ अब घर छाडेर गएकाहरुलाई ओलीले यस्तै निर्मम टिप्पणी गर्लान ? या योभन्दा अझै बढी ?
आम निर्वाचनमा शुन्य सिट
एमाले विभाजित भएको २ बर्षपछि २०५६ बैशाख २० र जेठ ३ मा गरी दुई चरणमा आम निर्वाचनमा भयो । तर मालेलाई आम मतदाताले पत्याएनन् । चुनाव चिन्ह तारामा मत नदिएर मालेलाई मतदाताले दिउँसै तारा देखाइदिए । मालेको खातामा एक सिट पनि आएन ।
एमालेलाई पनि विभाजनको ‘साइड इफेक्ट’ पर्यो । उसले जम्मा ७१ सिट प्राप्त गर्यो । एमालेको घर झगडाको फाइदा पायो,नेपाली कांग्रेसले र १११ सिट प्राप्त गर्यो । सरकारको नेतृत्व पायो ।
कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री नियुक्त भए ।के अब हुने निर्वाचनमा पनि कांग्रेसले एमाले विभाजनको लाभ उठाउन सक्ला ? अहिले नै यसको आंकलन गर्न अलि हतारो हुन्छ । किनकि यसबीचमा नेपाली राजनीतिमा अझै पानी बग्न बाँकी नै छ ।
अनि फेरि पूरानै घर फिर्ता
चुनावको नतिजाले एमाले र माले दुबै तिलमिलाए । एक अर्काको अस्तित्वको आवश्यकता देखे । गौतम सहितको एउटा टोली एमालेमा फर्किए । मैनाली लगायतको अर्को टोली मालेमै रहयो ।
‘इतिहासले उच्च मूल्यांकन गर्ने’ भन्दै एमाले त्यागेका गौतमले विभाजनलाई ‘गल्ती’ स्विकार्दै पूरानै घरमा भित्रिए । आत्मालोचना सहित । पार्टी विभाजन गरेको ४ बर्षपछि ०५८ फागुनमा एमालेमै फर्किए ।
…
के अब फेरि पनि उही कथा दोहरिन सक्छ ? नेकपा एमाले समाजवादी गठन गरेको नेपाल समूह ‘ऐतिहासिक भुल’ र ‘आत्माआलोचना’ सहित एमालेमै फर्किने परिस्थिती निर्माण होला ? नेपाली राजनीतिक दलहरु जुट्ने अनि फुट्ने तथा फेरि जुटने क्रम हिजो, आज र भोलि पनि रहिरहने छ । २४ बर्षअघिको एमाले विभाजनको कथा आज फेरि दोहरिएको छ । तर अहिले पात्र र प्रवृत्ति भने फेरिएका छन् । संयोग केवल एउटै हो,त्यसबेला पनि देउवा प्रधानमन्त्री थिए,यसपटक पनि ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया