चिकित्सा शिक्षा अध्यादेश स्वीकृतिका लागि संसदमा पेश हुने

काठमाडौं, २० चैत । चिकित्सा शिक्षा अध्यादेश २०७४ प्रतिनिधिसभा बैठकमा पेश हुने भएको छ ।मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिसकेपछि अध्यादेश स्वीकृतिका लागि पेश गर्ने कार्यसूची रहेको थियो ।मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।चिकित्सा क्षेत्रको सुधारका लागि भन्दै पटक पटक अनशन बसेका डा.गोविन्द केसीका माग पूरा गर्न सरकारले चिकित्सा शिक्षा अध्यादेश ल्याएको थियो ।अध्यादेशमा काठमाडौं उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नपाउने लगायतका विषय समावेश गरिएको छ । सो अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले गत कात्तिक २४ गते स्वीकृत गरेकी थिइन् ।अध्यादेशलाई संसद बैठक सुरु भएको ६० दिनभित्र संसदले पास गरी प्रतिस्थापन विधेयक ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।शिक्षामन्त्री पोखरेलले अध्यादेश स्वीकृतिका लागि पेश गर्नुअघि सांसद प्रेम सुवालको अस्वीकार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश हुने छ ।यसैगरी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७४ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?