काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जाको विकासका लागि निजी क्षेत्रको लगानी, नयाँ प्रविधि र स्थानीय उद्यमशीलतालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
बुधबार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ३०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नवीकरणीय ऊर्जालाई अनुदानमा मात्र सीमित गर्न नहुने बताए । उनले यसलाई उत्पादन, रोजगारी र आर्थिक समृद्धिसँग जोड्नुपर्ने धारणा राखे ।
उनले पछिल्लो तीन दशकमा भएका उपलब्धिलाई मात्रै पर्याप्त मान्न नसकिने बताए । नवीकरणीय ऊर्जालाई देशको आर्थिक विकासको महत्वपूर्ण आधार बनाउनुपर्ने उनको भनाइ थियो ।
मन्त्री श्रेष्ठले जलवायु परिवर्तनको जोखिम बढ्दै गएकाले केन्द्रीय ऊर्जा प्रणालीसँगै स्थानीय स्तरमा पनि नवीकरणीय ऊर्जाको विकास गर्न आवश्यक रहेको बताए ।
सरकारले एलपी ग्यासमुक्त पालिकाको अवधारणा अघि बढाउने तयारी गरिरहेको पनि उनले जानकारी दिए । यो अभियानले स्थानीय तहलाई ऊर्जामा आत्मनिर्भर बनाउन र आर्थिक विकासमा सहयोग पुर्याउने उनको भनाइ थियो ।
उनले प्रत्येक पालिकाको ऊर्जा उत्पादन क्षमता, माग, खपत र भविष्यको आवश्यकताको अध्ययन गरेर योजना बनाउनुपर्ने बताए । यसका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको भूमिका महत्वपूर्ण हुने उनले उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया