कार्यदलले दिएको प्रतिवेदन अनुसार नै छिट्टै पार्टी एकता: प्रचण्ड

चितवन – नेकपा (माओवादी) केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन तयार पार्न गठित कार्यदलले दिएको प्रतिवेदन अनुसार छिट्टै पार्टी एकता हुने बताएका छन । म‌ंगलबार बस्ने एकता संयोजन समितिको बैठकमा दुई वटै कार्यदलको प्रतिवेदन अन्तिम रूप दिनका लागि छलफल सुरु हुने बताउँदै उनले कार्यदलको प्रतिवेदन अनुसार नै पार्टी एकता हुने बताए ।‘एकता संयोजन समितिको बैठकमा दुई वटै कार्यदलको प्रतिवेदन औपचारिक ढङ्गले प्रस्तुत भएपछि मंगलबारदेखि नै प्रतिवेदनलाई अन्तिम रूप दिनका लागि छलफल सुरु हुन्छ,’ गृहजिल्ला चितवन आउनुभएका अध्यक्ष प्रचण्डले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने – ‘प्रतिवेदनअनुसार नै छिट्टै पार्टी एकता हुन्छ ।’उनले बराबरी सिद्धान्तले पार्टी एकतामा अप्ठ्यारो नपर्ने बताए । ‘पार्टी एकता सिद्धान्ततः प्रतिशतका आधारमा हुँदैन, चुनाव जस्तो होइन, बराबरी सिद्धान्तको आधारमा पार्टी एकता गर्नु पर्छ भन्न खोजिएको मात्रै हो,’ उनले भने – ‘यसले एकतामा अफ्ठ्यारो पर्ने स्थिति आउने भन्ने हुँदैन, एक पटक छलफल गरेपछि सबै कुरा टुङ्गिन्छ ।’अध्यक्ष प्रचण्डले मंगलबारको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा पनि छलफल हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?