नेपालको विकासका लागि भारतसँग सहकार्य आवश्यक : उपेन्द्र

राजविराज, १८ चैत – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको विकासका लागि भारतसँग सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।संघीय प्रेस फोरम सप्तरीले आज राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले संघीयताले देश समृद्ध हुने भएकाले अब नेपालमा संघीयताबाहेकको विकल्प नरेहको बताउनुभयो ।उहाँले मुलुकमा संघीयता समस्या नभएर समाधान हो भन्दै यसलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयो । भारत तथा चीनजस्ता दुई ठूला छिमेकी मुलुकसँग आपसी समझदारी कायम गरेर विकासको क्षेत्रमा अघि बढ्नुपर्ने उहाँको धारणा थियो ।नेपालको विकासका लागि भारतलाई विकासको साझेदारको रुपमा सम्झनुपर्ने बताउँदै अधिकारसम्पन्न प्रदेश निर्माणका लागि प्रदेश सरकारलाई आफ्नै कानून बनाउने अधिकार दिनुपर्ने माग गर्नुभयो ।अधिकार सम्पन्न प्रदेश निर्माण भएपछि मात्र प्रदेश विकसित र प्रगतितर्फ अगाडि बढ्ने उहाँले जिकिर गर्नुभयो । संविधान संशोधन वा कानून बनाएर भए पनि प्रदेश सरकारलाई अधिकार, शक्ति र स्रोत प्रदान गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।सुरक्षा निकाय तथा कर्मचारी अझै पनि प्रदेश मातहत नआएकाले अब पनि केन्द्र सरकारले पुरानो मानसिकता पालेर काम नचल्ने उल्लेख गर्नुभयो ।यस्तै संविधान संशोधन तथा आफूहरुले उठाएका मुद्दा सम्बोधनको सुनिश्चित नभई यथास्थितिमा सरकारमा जान नसकिने उहाँले प्रस्ट्याउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?