७ नम्बर प्रदेशले नै स्यावासी पाउने गरि काम गर्छु : मन्त्री बिना मगर

कञ्चनपुर, २७ चैत- खानेपानी मन्त्री तथा कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य बिना मगरले कञ्चनपुरका मतदाता र ७ नम्बर प्रदेशले नै स्यावासी पाउने गरि काम गर्ने बताउनुभएको छ ।आफ्नो निर्वाचन क्षेत्रमा भएका विभिन्न स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ७ नम्बर प्रदेशको प्रतिनिधित्व गर्दै सरकारमा गएकाले खानेपानी मन्त्रालयबाट हुने राम्रा कामको श्रेय समग्र प्रदेशले पाउने बताउनुभयो । मन्त्रालय महिला दिदीबहिनीसङ्ग प्रत्यक्ष जोडिएकाले खानेपानीका लागि धेरै समय खर्चिनुपर्ने अवस्थाको अन्त्य गर्ने उहाले बताउनुभयो ।`खानेपानी मन्त्रालयलाई हेर्ने राज्यको विगतको दृष्टिकोणमा सुधार गर्नुपर्ने देखिन्छ,´ उहाँले भन्नुभयो, `सरकारको आगामी नीतिमा खानेपानीलाई प्राथमिकतामा राख्ने गरि पहल गर्छु ।´ हाल खानेपानी पुगेका ठाउँमा आधारभुत खानेपानी मात्रै पुगेको बताउदै उहाँले सबै नेपालीलाई शुद्ध र स्वच्छ खानेपानी पुर्याउने लक्ष्य रहेको बताउनुभयो । काठमाडौवासीलाई खानेपानी सुविधा दिन सकिने गरि मेलम्ची आयोजनालाई यथाशीघ्र सम्पन्न गर्न निरन्तर लागिरहेको उहाँले बताउनुभयो ।चुनाव प्रचारका क्रममा निर्वाचन क्षेत्रमा गरेका वाचा पूरा गराउन प्रतिवद्ध रहेको बताउदै उहाँले विभिन्न निकायमा प्रारम्भिक छलफल भएको बताउनुभयो । `सीमा समस्या, हुलाकी सडकमा ढिलासुस्ती, नदी कटान लगायतका समस्या समाधानका लागि काठमाडौ फर्केपछि थप छलफल गर्छु,´ उहाँले भन्नुभयो ।मन्त्री भएपछि पहिलो पटक निर्वाचन क्षेत्रमा आउनुभएको उहाँ सहिद गेटमा स्वागत, पुनर्वास र बेलौरी उद्योग वाणिज्य संघको बधाई, पुनर्वासमा विधुत बिलिङ काउन्टरको उद्घाटन, आफू पढेको पुनर्वास जनता माविको सम्मान कार्यक्रम, श्रीपुर खानेपानीको सम्मान लगायतका कार्यक्रममा सहभागी हुनुभएको छ । उहाँले बेलौरी बजारमा रहेको किसान नेता सहिद भीमदत्त पन्तको सालिकमा माल्यार्पण समेत गर्नुभएको छ ।निर्वाचन क्षेत्रमा मन्त्री मगरको भव्य स्वागत गरिएको छ । उहाँकै पहलमा भोलि पुनर्वासमा पाठेघर र स्तन क्यान्सरको जाच शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?