झापा, १५ चैत । मदिरा सेवन गरी लठ्ठ भएर कार्यालय जाने झापाको मेचीनगर–२ का वडाअध्यक्ष तिलक न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।नियमितजसो मादक पदार्थ सेवन गरी कार्यालय जान थालेपछि स्थानीय सेवाग्राहीले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए । स्थानीयले जानकारी गराएलगत्तै इलाका प्रहरी कार्यालय, काँकरभिट्टाका डीएसपी टंकप्रसाद भट्टराई नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेर न्यौपानेलाई कार्यालयबाट नै नियन्त्रणमा लिएको थियो ।प्रहरीले मेची आम्दा अस्पताल धुलावारीमा वडाध्यक्ष न्यौपानेको मापसे जाँच गर्दा उनले मदिरा सेवन गरेको पुष्टि भएको थियो ।नमातेको बेला शालीन र सरल लाग्ने वडाध्यक्ष न्यौपानेले मदिरा पिएर लठ्ठ भएपछि जसलाई भेट्यो उसलाई तथानाम गालीगलौज गर्दै आएको स्थानीयवासीको भनाई छ ।नियन्त्रणमा लिन आएको प्रहरी टोलीलाई समेत उनले आफू जनप्रतिनिधि भएको भन्दै धम्काउने कोशिस गरेका थिए ।नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष न्यौपानेलाई आचरण सुधार्न पार्टीले समेत पटकपटक मौका दिँदै आएको थियो ।इलाका प्रहरी कार्यालय, काँकरभिट्टाले वडाध्यक्ष पक्राउ गरिएको बारेमा नगरपालिकाका नगरप्रमुख विमल आचार्यलाई जानकारी गराएको थियो ।अर्का वडाध्यक्ष ललित तामाङ, एमाले नेता देबकुमार राई र राम ओलीको रोहवरमा प्रहरीले न्यौपानेलाई आगामी दिनमा मदिरा सेवन नगर्ने शर्तमा छाडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया