काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जारी गर्ने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजातहरू अब हुलाक सेवामार्फत सोझै विद्यार्थीको हातमा पुर्याइने भएको छ । यसका लागि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभागबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा त्रिविका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार विश्वविद्यालयका विभिन्न निकायबाट जारी हुने प्रमाणपत्रहरू विद्यार्थीको फोन नम्बर र पूर्ण ठेगानाका आधारमा हुलाकमार्फत उनीहरूसम्म सुरक्षित रूपमा पु¥याइनेछ ।
कुल २२ बुँदामा समेटिएको उक्त सम्झौतामा प्रमाणपत्र तथा अन्य चिठीपत्रलाई व्यवस्थित रूपमा ढुवानी र वितरण गर्न हुलाक वस्तुलाई ट्र्याकिङ बारकोडसहित Postal Tracking System मा दर्ता गरिनेछ । यस प्रणालीले कागजातहरू सही ठेगानासम्म पुगे/नपुगेको अनुगमन गर्न सहज बनाउनेछ ।
कीर्तिपुरस्थित रजिस्ट्रारको कार्यालयमा आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै त्रिविका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटीले विश्वविद्यालयका सेवाहरूलाई हुलाकसँग जोडेर विद्यार्थीको घरदैलोमै पु¥याउने लामो समयदेखिको योजना पूरा भएकोमा खुसी व्यक्त गरे ।
त्यस्तै, हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक सेवा नागरिक र राज्यलाई जोड्ने सशक्त माध्यम भएको बताउँदै त्रिभुवन विश्वविद्यालयको यस कदममार्फत जनतालाई घरघरमै सेवा पुर्याउने जिम्मेवारी पाएकोमा खुसी व्यक्त गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया