गर्भावस्था महिलाको हेरचाह र प्रसवको लागि तयारी कसरी गर्ने ?

काठमाडौं । गर्भावस्था भनेको शिशुको जीवन शुरुवात भएदेखि जन्महुनुपूर्वको अवधि हो । यो अवधि कुल २७० दिन अथवा चालिस हप्ता वा नौ महिना सात दिन भन्ने बुझिन्छ । यो अवधिमा शिशुको शारीरिक (जस्तै: आँखा, कान, मुटु, कलेजो, लिङ्ग आदिको) वृद्धि र विकास हुन्छ ।

गर्भावस्थामा शिशुले हातखुट्टा चलाउने, जिउ तन्काउने, निदाउने, हाइ काढ्ने गर्दछ । आफू वरिपरि हुने अधिकांश क्रियाकलापहरू शिशुले आमाको पेटभित्र भएपनि सुन्छ र अनुभूति पनि गर्छ । शिशुले वातावरण अनुसार प्रतित्रिया जनाउँछ । जस्तै: ठूलो ध्वनिमा तर्सिन्छ, मधुर संगीतमा चलमलाउँछ, मुस्कुराउँछ, मुखमा औला हाल्छ आदि ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो पटक गर्भवती हुन २० देखि ३० वर्षको उमेर उपयूक्त  हुन्छ । कानूनी रुपमा, विवाह गर्न महिला र पुरुष दुवैले कम्तीमा २० वर्ष नाघेको हुनुपर्दछ ।

गर्भावस्थामा कुपोषण र अन्य कारणले शिशुमा अपाङ्गता हुन सक्छ । गर्भावस्थामा नै शिशुको अपाङ्गता पहिचान गर्न सकिन्छ । गर्भावस्थामा पहिचान गर्न सकिने केही अपाङ्गताहरू डाउनसिन्ड्रोम, पैताला / हात बाँगिनु, बहिरोपन, मोतीविन्दु, ओठ काटिएको, मुटु सम्बन्धि समस्या हुन् । यस्ता अपाङ्गता पहिचान भई तुरुन्तै उपचार गरेर जटिल समस्या हुनबाट रोकथामका साथै उपचार गर्न सकिन्छ ।

गर्भावस्थामा हेरचाह र प्रसवको लागि तयारी

सबै दम्पतीले गर्भावस्थामा शिशुको स्वास्थ्य अवस्थाको बारेमा स्वास्थ्य संस्थामा गएर जानकारी लिनु पर्दछ । गर्भावस्थामा, शिशु जन्मने बेला वा जन्मेपछिको आवश्यक सेवाहरूलाई समयमै पुर्‍याउन र आउन सक्ने समस्याबाट जोगिन नजिकैको स्वास्थ्य संस्थाबारे पूर्वजानकारी राख्नु पर्छ । शिशुको जन्म पूर्वनै योजना बनाउनुपर्छ र शिशुलाई चाहिने लुगा, कपडा (ओड्ने, बिछौना), पैसाको जोहो गर्नुपर्छ । प्रसूतिकालागि गर्भवती महिलालाई स्वास्थ्य संस्थामा लैजानु पर्छ ।

सबै दम्पतीले गर्भावस्थामा शिशुको स्वास्थ्य अवस्थाको बारेमा स्वास्थ्य संस्थामा गएर जानकारी लिनु पर्दछ

स्वास्थ्य संस्थासम्म जाने सवारीको पहिचान र व्यवस्था, रगतको खाँचो परेमा रगत दिने तीनजना स्वस्थ व्यक्तिको व्यवस्था गर्नु पर्दछ ।

नियमित स्वास्थ्य परीक्षण (कम्तीमा चारपटक) गराउनुपर्दछ:

               –             पहिलो परीक्षण: चौथो महिना

               –             दोस्रो परीक्षण: छैठौं महिना

               –             तेस्रो परीक्षण: आठौं महिना

               –             चौथो परीक्षण: नवौं महिना

माथि उल्लेखित परीक्षणका अतिरिक्त स्वास्थ्य सम्बन्धी कुनै समस्या/जटिलता भएमा गर्भवती महिलाले नजिकको स्वास्थ्य संस्थामा परीक्षण गराउनुपर्दछ ।

ध्यान दिनुपर्ने कुराहरू:

  • स्वास्थ्य संस्थाका विज्ञले सीफारिस गरेबमोजिम आइरन–फोलिक एसिड चक्की र जुका मार्ने चक्की खानु पर्दछ ।
  • खाना पकाउँदा दुई बालबालिकासहितको लोगो भएको आयोडिनयूक्त नुन राखेको खाना खानु पर्दछ ।
  • टिटि खोप पहिलो  र दोश्रो लिनु पर्दछ ।
  • औलो लाग्ने जिल्लाहरूमा गर्भवती  महिलाले कीटनाशक औषधिले उपचार गरीएको झूलभित्र सुत्नु पर्दछ ।
  • दादुरा, ठेउला, एचआइभी/एड्स र हेपटाइटिस संक्रमणबाट जोगिनु पर्दछ ।
  • आमाबाट शिशुमा हुन सक्ने संक्रमण रोकथाम गर्न गर्भवती महिलाले एचआइभी/एड्स परीक्षण गराउनु पर्दछ ।
  • स्वास्थकर्मीको सल्लाहबमोजीम नियमित रुपमा व्यायाम गर्ने र तौल वृद्धिमा विचार राख्नु पर्दछ ।
  • चिया, कफी र सोडायुक्त पेय पदार्थ सेवन नगर्नू बेश हुन्छ ।

खाना पकाउँदा दुई बालबालिकासहितको लोगो भएको आयोडिनयूक्त नुन राखेको खाना खानु पर्दछ

गर्भावस्थामा निम्न खतरापूर्ण सङ्केत देखिएमा नजिकैको स्वास्थ्य संस्थामा शीघ्र परामर्श र उपचार गर्नु पर्दछ:

  • टाउको साह्रै दुखेमा
  • हातखुट्टा अररो भइ काम्ने वा मूर्छा परेमा
  • आँखा तिरमिराएर धमिलो देख्ने भएमा
  • अनुहार वा हात सुन्निएमा
  • कडा रुपमा तल्लो पेट दुखेमा
  • योनीबाट अलिकति पनि रगत बगेमा

गर्भवती  महिला र शिशुको लागि अत्यन्त खतरा हुने निम्न क्रियाकलाप गर्नु हुँदैन:

  • लागुपदार्थ, रक्सी, चुरोट आदि सेवन ।
  • जथाभावी औषधि सेवन ।
  • झैझगडा, तनाव, रिस, आवेग, डर, चिन्ता ।
  • रेडियो विकिरण (एक्स रे) ।
  • विषादि प्रयोग गर्ने काम ।

समाचार स्रोत : यूनिसेफबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?