कञ्चनपुर । कञ्चनपुरका सामुदायिक वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि भएको छ । गत वर्षको तुलनामा वन क्षेत्रमा अधिक आगलागी भएको पाइएको छ । सुक्खा मौसम र गर्मीका कारण वन क्षेत्र अगालगीको चपेटामा परेको छ । वन क्षेत्रमा आगलागी हुँदा लाखौँ मूल्यको काठ जलेर नष्ट भएको छ ।
वन क्षेत्रमा अधिकांश आगलागीका घटना मानवीय कारण हुने गरेका छन् । डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीका अनुसार ९९ प्रतिशत आगलागीका घटना मानवीय कारण हुने गरेका छन् भने एक प्रतिशत घटनामात्रै प्राकृतिक कारणले हुने गरेको छ । चुरोटका ठुटा, सलाइका काँटी वन क्षेत्रमा फाल्दा र गोठालाले जानीजानी आगो लगाउँदा तथा वन क्षेत्रमा वनभोज जानेले खाना पकाइसकेपछि आगो ननिभाउनेलगायत कारणले आगलागीका घटना हुने गरेको छ ।
गत वर्ष १ सय ५० हेक्टर वन क्षेत्रमा मात्रै आगलागी भएको थियो । डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी अवस्थीले भने,“यस वर्षको अहिलेसम्म २ सय हेक्टर वन क्षेत्रमा आगलागी भइसकेको छ । गर्मी मौसम अझै बाँकी रहेकाले हावाहुरी चल्ने क्रमसँगै आगलागीका घटनामा वृद्धि हुनसक्ने देखिएको छ ।
पानी नपरेका कारण पनि आगलागीका घटनामा वृद्धि हुँदै जान थालेको उनले बताए । सामुदायिक वनका पदाधिकारी, प्रहरी, सशस्त्र प्रहरीलगायतको टोली वन क्षेत्रमा लागेको आगो निभाउने कार्यमा सक्रियरूपमा लागेका छन् । हालसम्म ३० भन्दा बढी सामुदायिक वन, लालझाडी संरक्षित वन, राष्ट्रिय वन क्षेत्र, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र चुरे क्षेत्रमा आगलागीका कारण धेरै क्षति भएको छ ।
आगलागीबाट बुट्यान, पुनः उत्पादन भएका बिरुवा, ढलापडा काठ, वन्यजन्तु र चराचुरुङ्गीको बासस्थानमा क्षति पुगेको छ ।आगलागीका कारण वन्यजन्तु बस्तीमा छिर्दा मानव र जीवजन्तुबीचको द्वन्द्वसमेत बढेको छ । आगलागीका कारण वायु प्रदूषणको समस्यासमेत निम्तिएको छ । वायु प्रदूषणका कारण मानवीय स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया