काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
शुक्रबार काठमाडौं महानगरपालिकाको अनुदान तथा सहकार्यमा सञ्चालित स्वास्थ्य संस्थाहरूको प्रस्तुतीकरण कार्यक्रममा बोल्दै महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बाइक एम्बुलेन्स सेवा सुरु गरिएको जानकारी दिएकी हुन् ।
उनका अनुसार अब १०२ नम्बरमा फोन गरी एम्बुलेन्स माग गर्ने सेवाग्राहीको आवश्यकताअनुसार बाइक एम्बुलेन्ससमेत परिचालन गरिनेछ । ट्राफिक जाम, साँघुरा सडक तथा गल्लीका कारण चारपाङ्ग्रे एम्बुलेन्स समयमै पुग्न नसक्ने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरिएको हो ।
कार्यवाहक प्रमुख डंगोलले काठमाडौंमा एम्बुलेन्सको संख्या पर्याप्त भए पनि बिरामीसम्म समयमै सेवा पुर्याउन चुनौती रहेको बताइन् । ट्राफिक जाम र काठमाडौंको भौगोलिक अवस्थाका कारण कतिपय स्थानमा चारपाङ्ग्रे एम्बुलेन्स पुग्न ढिलाइ हुने गरेको उनको भनाइ छ ।
चारपाङ्ग्रे एम्बुलेन्स पुग्न नसक्ने चोक तथा साँघुरा गल्लीमा तत्काल प्राथमिक सेवा उपलब्ध गराउन बाइक एम्बुलेन्स परिचालन गरिने उनले बताइन् । उनका अनुसार बाइक एम्बुलेन्सलाई आपत्कालीन अवस्थामा ‘फस्ट रिस्पोन्स’ सेवाका रूपमा सञ्चालन गरिनेछ ।
‘आजदेखि हामीले बाइक एम्बुलेन्स सर्भिस सुरु गर्दैछौँ । बिरामी तथा सेवाग्राहीले १०२ नम्बरमा फोन गरेपछि आवश्यकताअनुसार बाइक एम्बुलेन्ससमेत पठाउँछौँ,’ उनले भनिन् ।
काठमाडौंमा एम्बुलेन्सको संख्या कम नभए पनि समयमा सेवा उपलब्ध गराउन नसक्नु मुख्य समस्या रहेको उनले बताइन् । ट्राफिक जामका कारण चारपाङ्ग्रे एम्बुलेन्स समयमै पुग्न नसक्ने र काठमाडौंका साँघुरा गल्लीमा एम्बुलेन्स प्रवेश गर्न कठिन हुने भएकाले बाइक एम्बुलेन्स प्रभावकारी हुने उनको भनाइ छ ।
महानगरपालिकाले स्वास्थ्य संस्थाको आवश्यकता र उपलब्ध तथ्यांकका आधारमा पूर्वाधार, उपकरण तथा प्रत्यक्ष स्वास्थ्य सेवामा सहयोग र सहकार्य गर्दै आएको पनि डंगोलले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया