अमेरिकाको ओरेगन प्राथमिक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । अमेरिकाको ओरेगन राज्यस्थित एक प्राथमिक विद्यालयमा १६ वर्षीय किशोरले गोली चलाउँदा तीन बालबालिका र एक शिक्षिकाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो बेन्ड सहरस्थित सिल्भर रेल प्राथमिक विद्यालयमा गोली चलेको हो । घटनामा सात वर्षीय एक बालक र ५४ वर्षीया शिक्षिका गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुने बालबालिका पाँच, आठ र ११ वर्षका छन् ।

बेन्ड प्रहरी प्रमुख माइक क्रान्ट्जका अनुसार गोली चलाउने किशोरले विद्यालयको बन्द ढोकामा गोली प्रहार गरेर भित्र प्रवेश गरेका थिए । उनी स्थानीय बासिन्दा रहेको प्रहरीले जनाएको छ । तर, उनको पहिचान र विद्यालयसँगको सम्बन्धबारे प्रहरीले थप जानकारी दिएको छैन ।

गोली चलाइरहेको देखेपछि घटनास्थलमा रहेका एक व्यक्तिले किशोरलाई पछ्याउँदै विद्यालयभित्र प्रवेश गरेका थिए । ती व्यक्तिले किशोरमाथि गोली चलाउँदा उनको मृत्यु भएको प्रहरी प्रमुख क्रान्ट्जले बताए ।

स्थानीय समयअनुसार दिउँसो १ बजे विद्यालयमा गोली चलेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । सुरुमा एक व्यक्तिले लामो बन्दुक प्रयोग गरी आफ्नो कारमा गोली प्रहार भएको भन्दै प्रहरीलाई खबर गरेका थिए । केही मिनेटपछि विद्यालयभित्रै गोली चलेको भन्दै आपत्कालीन सेवा केन्द्रमा फोन आएको थियो ।

घटनास्थलमा पहिलो प्रहरी टोली पुगेको तीन मिनेटभित्रै गोली चलाउने किशोरको मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ । त्यसपछि प्रहरीले विद्यालयका कक्षाकोठा तथा अन्य क्षेत्रमा खोजी गरेको थियो ।

घटनापछि शुक्रबार बेन्ड सहरका सबै विद्यालय बन्द गरिएको छ । स्थानीय विद्यालय जिल्लाका प्रमुख प्रशासकीय अधिकारी स्टिभन कुकले घटनाप्रति दुःख व्यक्त गर्दै समुदाय शोकमा डुबेको बताएका छन् ।

उनले घटनालाई ‘निरर्थक त्रासदी’ भन्दै समुदायले भोगिरहेको दुःख व्यक्त गर्न कुनै पनि शब्द पर्याप्त नभएको बताएका छन् ।

सिल्भर रेल प्राथमिक विद्यालयमा करिब ४५० बालबालिका अध्ययनरत छन् भने ४० भन्दा बढी वयस्क कर्मचारी कार्यरत छन् ।

के–१२ स्कुल सुटिङ डेटाबेसका अनुसार अमेरिकामा गत वर्ष विद्यालयमा गोली चलाइएका २३५ घटना भएका थिए । यस वर्ष हालसम्म कम्तीमा १४० यस्ता घटना रेकर्ड भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?