काठमाडौं । यस वर्षको दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दसैँ अवधिमा देशका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ ।
महाशाखाले शुक्रबार असोज ३० गते दसैँ विशेष मौसम बुलेटिन जारी गर्दै नेपालबाट मनसुन बाहिरिसकेकाले दसैँभर पश्चिमी वायुको आंशिक प्रभाव रहने जनाएको हो ।
फूलपातीका दिन कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्ने तथा अन्य हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ ।
फूलपातीका दिन देशका हिमाली क्षेत्र तथा कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । रातिको समयमा कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा पनि हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
त्यस्तै, महाअष्टमीका दिन हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ ।
दसैँको टीकासम्म अर्थात् कात्तिक २ देखि ४ गतेसम्म कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने सम्भावना छ ।
यस अवधिमा ती क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
तराई क्षेत्रमा भने दसैँ अवधिमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने सम्भावना रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया