प्रदेश सरकारले निर्माण गर्ने योजनाहरु अपाङ्गता, महिला तथा बालमैत्री हुने

काठमाडौं । बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले निर्माण गर्ने आयोजनाहरु अपाङ्गतामैत्री, महिलामैत्री तथा बालमैत्री हुने बताएका छन् ।

अपाङ्गताको क्षेत्रमा काम गर्ने स्वावलम्बन जीवन केन्द्र, ललितपुरका प्रतिनिधिहरुले बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री फुयाँलले सरोकारवालाहरुले उठाएका मागहरु जायज र सम्बोधन गर्न आवश्यक रहेकोले सरकार माग पुरा गर्न तत्पर रहेको बताए । उनले शारीरिक क्षमताका आधारमा नागरिकले प्राप्त गर्ने सेवामा फरक हुन नहुने भन्दै हरेक फरक क्षमता भएका व्यक्तिहरुको समस्याहरुको समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

फुयाँलले पहुँचयुक्त भौतिक पूर्वाधार निर्माण हुने, विद्युतीय सवारी सञ्चालनका लागि बाग्मती प्रदेशले बनाउन लागेको चार्जिङ्ग स्टेशनहरु र सार्वजनिक शौचालयहरु बाल, महिला तथा अपाङ्गतामैत्री बन्ने नीति लिइएको बताए । उनले सार्वजनिक सडकहरु तथा परिवहन पूर्वाधारहरु अपाङ्गतामैत्री हुनेगरी “प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको व्यवस्था गर्न बनेको विधेयक, २०७७” प्रदेशसभामा विचाराधीन रहेको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?