कोरोनाको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएको सांसदहरुको आरोप

काठमाडौं । सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको बताएका छन ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा आज भएको छलफलमा सांसदहरुले कोरोनाका विषयमा तथ्यगत जानकारी सम्प्रेषण हुन नसक्दा जनतामा आतंक फैलिएको बताएका हुन । सांसद रामचन्द्र राईले कोरोना महामारी हो की सरुवा रोग मात्रै हो भन्ने कुरा प्रष्ट पार्नुपर्ने बताए । स्वास्थ्य मन्त्रालयका अधिकारी सहभागि बैठकमा उनले सरुवा रोग मात्रै हो भने कोकोहोलो किन गर्नुपरेको भन्दै प्रश्न गरे । महामारी नै हो भने सामान्य अवस्थाको मृत्युदर र अहिलेको मृत्युदरको विश्लेषण हुनुपर्ने उनले बताए ।

सांसद कोमल वलीले लक्षण देखिएकालाई मात्रै पीसीआर परीक्षण गर्ने नीति ठिक नभएको बताएकी छिन् । संक्रमित भएर उपचार गराइरहेको व्यक्तिले अन्य व्यक्तिमा संक्रमण फैलाउने दर बढी हुने भएकाले लक्षण देखिएमात्रै परीक्षण गर्ने नीति ठिक नभएको उनले बताइन् । परीक्षणमा भएको खर्चभन्दा पनि जनताको स्वास्थ्य ठूलो कुरा भएको उनले बताइन् ।

त्यस्तै अर्का सांसद गोपी बहादुर सार्कीले कोभिडको विषयमा बढी चर्चा र आतंक फैलाइएको बताए । आतंक सिर्जना हुने गरी भएको प्रचारले आम मानिसमा मनोवैज्ञानिक असर गरेको उनको धारणा रहेको छ ।

त्यस्तै सांसद शेखर कुमार सिंहले स्थानीय तहमा अस्पतालको संख्या मात्रै नभएर जनशक्ति पनि बढाउनेतिर ध्यान दिनुपर्ने बताए ।

सांसद अनिता देवकोटाले अबको अवस्था कसरी सामान्य बनाउन सकिन्छ भन्ने तर्फ ध्यान दिनुपर्ने बताइन् । कोभिड १९ संक्रमणको जोखिम नेपालमा पनि हुन्छ भन्ने थाहा भएपनि रोकथामका लागि सरकार र संसदले आवश्यक योजना बनाउन नसकेको उनले बताइन् ।

सांसद खिमलाल भट्टराइले पछिल्लो समय समाजमा लक डाउनको आतंक फैलिएकोले अब लक डाउन गर्न नपर्ने गरी प्रोटोकल बनाउनुपर्ने बताएका छन् ।

छलफलमा सहभागि मन्त्रालयका सहसचिव डा. गुणराज लोहनीले अहिले भेन्टिलेटर भन्दा अक्सिजनको उपचार विधि लाभदायिक देखिएको बताए । आयुर्वेदिक औषधिको परीक्षण र प्रयोग नेपालमा पनि भइरहेको सन्दर्भमा ७, ८ दिनमा रिपोर्ट नेगेटिभ आउने गरेको उपचारमा संलग्न व्यक्तिहरुले रिपोर्ट गर्ने गरेको उनले बताए । पालिकाहरुमा स्थापना हुने अस्पतालहरुमा छात्रवृतिमा अध्ययनरत विद्यार्थीमध्ये प्रत्येक पालिकामा १ जना चिकित्सकको व्यवस्था गर्नेगरी योजना अगाडी बढेको उनले बताए ।

मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोरोनाको भ्याक्सिन बनेपछि नेपाललाई सहज रुपमा उपलब्ध गराउन भारत, रसिया र चीन लगायतका मुलुकसँग दुईपक्षिय कुराकानी भइरहेको बताए । चिकित्सकहरुको जोखिम भत्ताका विषयमा मन्त्रिपरिषद्ले तयार पारेको कार्यविधि अनुसार वितरण भइरहेको उनले बताए ।

नेपाली वैज्ञानिकहरुले भ्याक्सिन पत्ता लगाएको अवस्थामा पनि सुरुवाती चरणमा अन्य देशहरुको भ्याक्सिन नै प्रयोग हुने उनले बताए । भ्याक्सिन पत्ता लागेपछि परीक्षणमा बढी समय लाग्ने भएकाले पनि तत्कालिन अवस्थामा अन्य देशहरुले बनाएको भ्याक्सिन नै प्रयोगमा आउने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?