राजपा नेताले राखे गृहमन्त्री बादल सामु रेशम चौधरीको रिहाइको माग

काठमाडौं, २६ फागुन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्यहरुले कैलाली कारागारमा पुर्पक्षका लागि थुनामा राखेका रेशम चौधरीको रिहाइको माग गरेका छन् ।शनिबार बिहान गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँगको छलफलमा राजपा नेताहरुले चौधरीको रिहाइको माग गरेका हुन् ।छलफलका क्रममा कारागारमै अनसन बसिरहेका कारण रेशम चौधरीको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्र्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।जवाफमा चौधरीका बारेमा के गर्दा राम्रो हुन्छ भन्दै थापाले राजपाको राय माग गरेका थिए ।त्यसपछि राजपाका नेताहरुले रिहाई गरेर चौधरीलाई सांसदको सपथ गराउनुपर्ने बताएका थिए । अत्याधिक बहुमतका साथ चौधरी विजयी भएकाले जनमतको सम्मान गर्दै सपथ ग्रहणको बातावरण बनाउनुपर्नेमा आफूहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराइएको यादवले बताए ।राजपाका नेताहरुको कुरा सुनेपछि गृहमन्त्रीले यसबारे आफू सकारात्मक रहेको भन्दै प्रधानमन्त्रीसँग सल्लाह गरेर उचित निर्णय लिएरपछि जवाफ दिने यादवले बताए । गृहमन्त्रीले आफूपनि आन्दोलनबाट आएको पात्र भएकाले चौधरी प्रकरणलाई नजिकबाट बुझिरहेको समेत बताएका थिए ।सो छलफलमा राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो, राजकिशोर यादव, शरतसिंह भण्डारी, अनिल झा र नेता वृषेशचन्द्र लालको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?