काठमाडौँ, २४ फागुन – एकसय आठौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले २५ प्रतिशत पुरुषको अनिवार्य प्रतिनिधित्व गराएर सातौँ श्रमिक राष्ट्रिय महिला सम्मेलनको आयोजना गरेको छ । राज्यका हरेक निकायमा ३३ प्रतिशत अनिवार्य महिला आरक्षणको व्यवस्था भए पनि महासंघले आफ्नो महिला केन्द्रित कार्यक्रममा २५ प्रतिशत पुरुष आरक्षण दिएर कार्यक्रम गर्दै आएको छ । आजको महिला सम्मेलनमा २४८ मध्ये एक तिहाइ पुरुष सहभागी थिए । “अल्पसंख्यक हुँदा कस्तो अनुभूति हुँदो रहेछ भन्ने अनुभूत गराउन जिफन्टले आयोजना गर्ने महिलासम्बन्धी कार्यक्रममा महिला ७५ प्रतिशत र पुरुष २५ प्रतिशत प्रतिनिधि बनाउने विधि अवलम्बन गरेका हौँ”, जिफन्टका अध्यक्ष एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले भने, “यसले पुरुषमा महिलाका विषयलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन गर्न सहयोग गरेको छ ।” जिफन्टका महासचिव विष्णु लम्सालले नीतिनिर्माण तहमा पुरुषको बोलवाला रहेको अवस्थामा शुरु गरिएको यो अवधारणाले पुरुषलाई पनि महिला अधिकारका विषयमा सचेत हुन प्रेरित गरेको बताए । कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम संगठनका नेपाल प्रमुख रिचर्ड हावर्डले नेपालमा महिलाको नीतिनिर्माण तहमा वृद्धि भएको संख्या एसियामा नै देखाउन लायक भएको धारणा व्यक्त गरे । एमालेका सांसद बिन्दा पाण्डेले लामो संघर्षले महिला अधिकार स्थापित गर्ने पक्षमा धेरै उपलब्धि हासिल भएको भन्दै अझै पनि केही विषयमा अभियान चलाउनुपर्ने बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया