बालुवाटार बैठकको समिक्षा: ‘पार्टीको विधान विपरित ओलीले बैठक स्थगित गर्नु अनुचित’ !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली इतरका स्थायी कमिटी सदस्यहरुले पार्टीको विधि, विधान विपरित बैठक स्थगित गर्ने ओलीको निर्णय अनुचित भएको बताएका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले विधान विपरित ओलीले एकलौटी ढंगले बैठक स्थगित भएको सूचना प्रवाह गर्नु अनुचित भएको निष्कर्ष निकालेका हुन ।

यसअघि नै स्थायी कमिटीले आज बैठक बस्ने निर्णय गरेपनि विधान विपरित अर्का अध्यक्ष ओलीले स्थगित भएको सूचना प्रवाह गर्नु उचित नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

अध्यक्ष ओलीले बैठक स्थगित भएको सूचना प्रवाह गरेपछि दाहाल – नेपाल समूहका स्थायी समिति सदस्यहरुले अध्यक्षद्वयबीच थप छलफल गरी बैठक सुचारु गर्न दाहाललाई जिम्मेवारी दिने निर्णय पनि गरेको उनले बताए । प्रवक्ता श्रेष्ठले भने, ‘‘आजको बैठक यसअघिको बैठकले आज ११ बजे बैठक बस्ने निर्णय गरेको थियो । त्यसैको निरन्तरता हो । जुन बैठक अध्यक्ष कमरेड केपी ओलीले रोक्ने सूचना प्रशारित गर्नु पार्टी विधानविपरीत र अनुचित भएको थियो । आजको बैठकले एजेन्डामा छलफल नगरी सहमतिका आधारमा आगामी बैठक राख्ने पहल गर्न अध्यक्ष कमरेड प्रचण्डलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।’’

प्रवक्ता श्रेष्ठका अनुसार पार्टीको एकता रक्षा गर्न, पार्टीलाई विधि र पद्धति अनुसार अगाडी बढाउन र वर्तमान संकटलाई निकास दिन आ-आफ्नो भूमिका खेल्न पनि बैठकले नेता कार्यकर्ताहरुलाई आग्रह गरेको छ । बैठकमा निर्णय गर्नुअगाडी अध्यक्ष दाहाल र वरिष्ठ नेता झलनाथ खनालले ओलीलाई बैठकमा सहभागी हुन आग्रह गरेपनि ओलीले अस्वीकार गरेको उनले बताए ।

आफुले यसअघि नै बैठक स्थगित गरेकाले उपस्थित हुन नसक्ने जवाफ ओलीले दाहाल र खनाललाई दिएका थिए । प्रवक्ता श्रेष्ठले आगामी बैठकको मिति तय नभएको बताए । पार्टीमा देखा परेको संकटलाई धैर्यताका साथ विवेकले समाधान गर्न अध्यक्षद्वयबीच छलफल जारी राखेर हर हालतमा एकताको रक्षा गर्नेगरी अगाडी बढ्ने उनले बताए । पार्टी एकताको रक्षा गर्दै केन्द्रिय कमिटिले निर्णय गरेअनुसार महाधिवेशनको तयारी थालिने पनि उनले बताए । बैठकमा २९ जना स्थायी समिति सदस्य र दुईजना आमन्त्रित सदस्य गरी ३१ जनाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?