लकडाउन मात्रै थपिएको भन्दै कांग्रेस नेता केसीको विरोध

काठमाडौं । कांग्रेस नेता अर्जुननरसिंह केसीले सरकारबाट लकडाउन मात्र थप्ने काम भएको तर तदनुरूप कार्ययोजना पटक्कै नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

‘४२ दिन लकडाउन गरेपछि स्थानीय परिस्थितिलाई हेरी क्रमशः खुकुलो बनाउँदै लैजानुपर्ने र यसका साथै लकडाउन वाट जन्मने अन्य असरबारे विश्लेषण र समाधान गर्दै कोरोनापछि देशको आर्थिक, सामाजिक र स्वास्थ्यनितिको योजना निर्माणमा सरकार बेखबर छ । महिनौ दिनदेखि सरकार कोरोना महामारीसँगको युद्धमा होइन आफ्नै सत्ता द्वन्द्वमा अस्तव्यस्त रह्यो’, केसीले बुधबार भने, ‘अब फेरि रामवाणको रुपमा अर्को लकडाउनको घोषणा भएको छ । लकडाउन बाध्यता हुनसक्छ तर तदनुरूप कार्ययोजना पटक्कै भएन।’

देशैभरि ५ जेठ सम्मका लागि लकडाउन बढाएर २५ बैशाखमा दीपावली गर्न आह्वान गरेको सरकारले लकडाउनलाई युद्धस्तरमा उपचारभन्दा पनि अल्मल्याउने र निरंकुश सर्वसत्तावादी शासनशैलीको राजनीतिक हतियार बनाउने चेष्टा गरेको केसीले बताएका छन् ।

श्रमिक, किसान, विद्याथी, प्रवासमा रहेका नेपालीलगायत लकडाउनका कारण ठूलो मारमा रहेको उल्लेख गर्दै केसीले कोरोनाको परीक्षणका सामग्रीको अभावका कारण परीक्षणमा पूर्ण असफलता देखिएको पनि बताएका छन् ।

यस्तै लकडाउन पछिको आर्थिक, सामाजिक र स्वास्थ्य क्षेत्रका वैकल्पिक योजना नआएको बताउँदै केसीले भनेका छन्, ‘सरकार अहिलेसम्म यसबारे कुनै योजना र उत्तरदायित्व विहीन देखिएकोछ। अर्कातिर विवादास्पद बनिरहेको अर्बौँ रुपैयाँको सांसद विकास कोष परिचालनको लागि सरकारले यस्तो संकटकालीन वर्षमा समेत निरन्तरता दिएर जनविरोधी चरित्र देखाउन खोजेको देखिन्छ ।’

उनले कोरोनाको लक डाउनका असरवाट सबैभन्दा पीडित बनेकाहरुलाई राहत वितरणमा समेत पक्षपात र राजनीतिकरण भएको बताएका छन् ।
केसीले लकडाउनलाई व्यवहारिक र जीबन उपयोगी बनाउँदै बेरोजगार श्रमिक, किसान र विद्यार्थीहरूको लागि तत्काल राहत र सहुलियत कार्यक्रम लागु गर्न जरुरी रहेको समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?