लकडाउनमा खाद्यवस्तु तथा अत्यावश्यक सामानको आयातमा बृद्धि

काठमाडौं । लकडाउनको पहिलो साताको तुलनामा ६१४ प्रतिशतसम्म आयात बृद्धि भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। सबैभन्दा बढी दुग्धजन्य वस्तुको आयात बढेको छ ।

पहिलो सातामा औषधि आयात कम भए पनि तेस्रो हप्तामा यो बढेको छ । दोस्रो साताको तुलनामा औषधि ६८ प्रतिशत बढी आयात भएको तथ्यांकले देखाउँछ । लकडाउन अवधिमा ७५ करोड १२ लाख रुपैयाँ बराबरको औषधि आयात भएको छ। औषधिको कच्चा पदार्थ मात्रै १३ करोड ५ लाख रुपैयाँको भित्रिएको छ ।

लकडाउन सुरु भएपछि २३ दिनमा ५७ हजार चार सय १२ टन खाद्यान्न आयात भएको छ। दाल मात्रै १७ हजार पाँच सय ३० टन आयात भएको छ । तरकारीको आयात पहिलो साताको तुलनामा ६२ प्रतिशतले बढी भएको छ भने फलफूल व्यापक मात्रामा भित्रिएको छ ।

यस अवधिमा आयातित तरकारी ३१ हजार टन छ भने फलफूल ७ हजार चार सय ८३ टन छ । सामान ओसारपसार गर्ने मुख्य नाकाबाट बिना रोकतोक सामान भित्रिएका छन् । काँकडभिट्टाबाहेक अन्य प्रमुख नाका चालु छन्। भारतको पश्चिम बंगालको सरकारले आफ्ना नाकाहरू बन्द गरेकाले उक्त नाका बन्द छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा २०,९२४ मेट्रिक टन चामल (यसमध्ये ३,९१५ मेट्रिक टन दुर्गमका जिल्लामा), ६१० क्विन्टल फापर र ५६० क्विण्टल सिमी मौज्दात रहेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट उपत्यकाका रामशाहपथ, नख्खु, थापाथली, भक्तपुर र ललितपुरस्थित बिक्री केन्द्रका साथै घुम्ती सेवा पसल (मोबाइल भ्यान) मार्फत उपभोक्ताको मागअनुसार सरकारबाट लागू गरिएको लकडाउनपछिको प्रत्येक दिन निरन्तर रूपमा खाद्यान्न बिक्री वितरण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?