लकडाउनको पूर्णपालना गर्न सभापति देउवाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न र समाजिक दुरी कायम गर्न अपिल गरेका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन सरकारले लागू गरेका आदेशहरुको पालना गर्न र समाजिक दुरी कायम गर्न सम्पूर्ण नेपालीहरुलाई अपिल गरेका हुन् ।

मंगलबार न्युज एजेन्सी नेपालका संवाददातासँग कुरा गर्दै देउवाले सीमा पारी अलपत्र परेका नागरिकलाई उद्दार गरी क्वारेन्टाइनमा राख्न समेत सरकारलाई आग्रह गरेका छन् । सरकारलाई पारदर्शी रुपमा स्वास्थ्य सामग्रीको खरिद गर्न र कति दिन लकडाउन गर्नुपर्ने हो त्यसको अध्ययन गरेर अगाडि बढन समेत सरकारलाई अनुरोध गर्नुभएको छ । सरकारले आशंका लागेका सबै नागरिकको परीक्षण गर्ने व्यवस्था मिलाउन तत्काल काम गर्नुपर्नेमा उनले जोड दिए ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई समेत उच्च सतर्कता अपनाएर काम गर्न सभापति देउवाले आग्रह गरेका छन् । यस्तै नेपाली कांग्रेसका सम्पूर्ण सदस्य एवं कार्यकर्ताहरुलाई उच्च सतर्कताका साथ प्रचार प्रसारमा लाग्न र जनतामा सचेतना फैलाउन समेत आग्रह गरेका छन् । राजनीतिक दल सुवेच्छुक संस्थाहरुलाई देहमा भित्रिएको संकटमा एकजुट भएर लाग्न समेत आग्रह गरे ।

विदेशमा रहेका नेपाली नागरिकहरुलाई उच्च सतर्कताका साथ स्वास्थ्यको ख्याल गर्न समेत अपिल गरेका छन् । सभापति देउवाले विदेशमा कोरोना संक्रमणबाट भएको नेपालीहरुको मृत्युप्रति सभापति देउवाले दुःख समेत व्यक्त गरेका छन् । उनले मृतकका परिवारजनमा हार्दिक समवेदना प्रकट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?