लकडाउन उल्लंघन गर्ने २ जना नक्कली चिकित्सक नियन्त्रणमा

काठमाडौं । नक्कली चिकित्सकको भेषधारण गरेर काठमाडौंबाट झापा आएका दुई युवालाई आइतबार बिहान इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ । प्रहरीको नियन्त्रणमा पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी रहेका छन् । लकडाउनका बेला ती युवा बा ६ च ७०१९ नम्बरको कारमा धरान हुँदै बिहान काँकडभिट्टा आइपुगेको प्रहरीले जनाएको छ ।

निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न आएको बताएका उनीहरुको साथबाट डा विनोद श्रेष्ठ नामको नक्कली परिचय पत्र भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । काठमाडौंदेखि चिकित्सकको बहाना गरी सुरक्षा जाँच छल्दै काँकडभिट्टा आइपुगेका उनीहरुलाई प्रहरीले मेडिकल काउन्सिलको दर्ता नम्बरसमेत माग्दै सोधपुछ गरेपछि नक्कली चिकित्सक भन्ने पोल खुलेको थियो ।

प्रहरीले दुबै जनालाई आवश्यक अनुसन्धान अघि बढाउँदै तत्कालका लागि मेचीनगरको क्वारेन्टाइनमा पठाउने भएको छ । प्रहरी उपरीक्षक कोइरालाले नियन्त्रणमा लिइएका दुबै व्यक्ति लागू औषधको खोजीका लागि छटपटाउँदै आइपुगेको आशङ्का गरिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?