काठमाडौं । सर्वोच्च अदालतले सीमा नाकामा रोकिएका नेपालीलाई स्वदेश आउन नदिनुको कारण पेश गर्न आदेश दिएको छ। कोरोना भाइरसको संक्रमणको सम्भावनालाई देखाउँदै सरकारले लकडाउन घोषणापछि सीमामा सयौ नेपाली रोकिएका छन् । उनीहरु देश प्रवेश गर्न नपाएपछि सर्वोच्चले त्यसबारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
अधिवक्ता भनिषकुमार श्रेष्ठले सीमामा रहेका नेपालीलाई तुरुन्त भित्र्याउन अन्तरिम आदेशको माग गर्दैै सर्वोच्चमा बुधबार रिट दायर गरेका थिए । रिटमाथि सुनुवाई गर्दै न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले बिहीबार लिखित जवाफ पेश गर्न आदेश दिएको हो । आदेशमा यसै विषयसँग सम्बन्धित अर्को रिटको सुनुवाई यही चैत २४ गतेका लागि तोकिएकाले अन्तरिम आदेशबारे छलफल गर्न निवेदक र विपक्षीहरुलाई उपस्थित हुन आदेश दिएको छ ।
रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, गृहमन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकारलाई विपक्षी बनाइएको छ। धार्चुला, सुनौली लगायतका नाकामा सयौं नेपाली आएर रोकिएका छन् । लकडाउनका कारण प्रहरीले प्रवेश गर्न नदिएपछि अलपत्र परेका नेपाली नागरिक खुला आकाशमुनि बस्न बाध्य भएका छन् । केहीलाई भने भारतीय पक्षले सुरक्षितसँग क्वारेन्टाइनमा राखेको छ । सरकारले चैत ११ गतेदेखि लागू गरेको लक डाउन २५ गतेसम्मलाई तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया