पुच्छर भएकादेखि गुड्दै उडाइनेसम्मका चङ्गाबारे थाहा छ ?

इन्द्रलाई कसले भनिदिने ‘वर्षा चाहिँदैन’!

काठमाडौँ – हाम्रा लागि चङ्गा उडाउनु खेल मात्र नभएर रीति हो, पुर्खौंदेखि चलिआएको संस्कृति । यो रीति कहिले र कहाँ जन्मियो भनेर मिति र स्थान किटान गर्न नसकेपनि कसरी भयो भन्ने बारेमा संस्कृतिविद्हरुको छुट्टै अभिव्यक्ति छ । लिखित इतिहास नभएपनि नेपालमा लिच्छवी कालदेखि नै चङ्गा उडाउने चलन चलिआएको संस्कृतिविद् डा।गणेश घिमिरेले बताए । उनका अनुसार चङ्गा उडाउने चलनका पछाडि सांस्कृतिक भन्दा पनि सामाजिक र प्राकृतिक कारणहरु छन् । डा.घिमिरे भन्छन् ‘यो समयमा मौसम सफा र स्वच्छ हुने भएकाले चङ्गा उडाइन्थ्यो । यही क्रियालाई बारम्बार दोहोराएपछि यसले परम्पराको रुप लियो । पछि सबै मिलेर चङ्गा उडाउँदा, प्रतिस्पर्धा गर्दा यही सामाजिक एकता र सद्भावको माध्यम बन्यो र क्रमश संस्कृति पनि ।’ साउन भदौको वर्षापछि असोजमा सफा वातावरण हुने भएकाले दशैंको समय चङ्गा उडाउनलाई सबैभन्दा उपयुक्त मानिन्छ । त्यसैले, यो परम्परा धेरथोर मौसम र प्रकृतिसँग पनि सम्बन्धित छ । स्वर्गका राजा इन्द्रसम्म ‘वर्षा चाहिँदैन’ भन्ने सन्देश पु¥याउनका लागि चङ्गाको प्रयोग गरिएको हो भन्ने किंवदन्ती नेपालमा प्रचलित छ । वर्षायाममा धेरै पानी परिसकेकाले धान पाक्ने बेला पानी चाहिँदैनभनेर इन्द्रलाई उक्त सन्देश पठाइन्छ । चङ्गा उडाएमा पानी पर्दैन भन्ने जनविश्वास परपूर्वकालदेखि नै रहिआएको छ ।

चङ्गाको उद्गमस्थल भने छिमेकी राष्ट्र चीनलाई मानिन्छ । चीनमा रोगव्याधबाट मुक्ति पाउन र दुष्टात्मा धपाउने प्रयासको रूपमा चङ्गा उडाउने गरिन्छ ।
सन् १८७४ मा स्कटल्याण्डका दुई वैज्ञानिक थोमस मेलविन र अलेक्जेन्डर विल्सनले चङ्गामा तापमापक यन्त्र (थर्मोमिटर) राखेर वायुमण्डलको तापक्रम लिएका थिए । सन् १८९३ मा अमेरिकाका वैज्ञानिक लरेन्स हाग्रेभले बनाएको बाकस आकारको चङ्गाले १२ वर्षसम्म अमेरिकाको मौसम विभागको लागि वायुको तापमान र हावाको दबाव नाप्ने काम ग-यो ।


बेलायतका ओलिभर तथा विल्वर राइट नामका दुई भाइले सन् १९०३ मा हवाइजहाजलाई आकाशमा उडाउने अनुसन्धानका क्रममा चङ्गाको यथेष्ट प्रयोग गरेका थिए । वैज्ञानिक सर जर्ज केलेले सन् १९०४ मा चङ्गाकै आधारमा ग्लाइडरको आविष्कार गरे । सन् १९२५ मा जर्ज पोककले आफ्नी छोरीलाई लिएर उड्न सक्ने चङ्गा बनाएका थिए ।
चङ्गाका प्रकारहरू : 
फ्ल्याट काइट (चेप्टो चङ्गा) : फ्ल्याट काइट सबैभन्दा पुरानो र पुच्छर भएको चङ्गा हो । यस्ता चङ्गामा हावाको गतिअनुसार पुच्छरको लम्बाइ राख्ने गरिन्छ ।
बोउड काइट : बक्राकारको हुने यो चङ्गाले हावासित कोण बनाउँछ । यस्तो कोणलाई ‘डाइहेड्रल एंगल’ भनिन्छ । यस प्रकारको चङ्गा सन् १८९१ मा पहिलोपटक अमेरिकामा प्रयोग भएको थियो ।
बक्स काइट :  बक्स काइटमा तीनवटा डाइमेन्सनल एकाइ हुन्छ । किनाराहरू वर्गाकार, आयातकार र त्रिकोणकार हुने गर्दछन् । यस्ता चङ्गा उडाउन तीव्र हावाको जरुरत पर्दछ । बक्स काइटहरू एउटा भन्दा पनि बढी सङ्ख्यामा लहरै उडाउँदा आकर्षक देखिन्छन् ।
डेल्टा काइट : डेल्टा काइट त्रिकोणाकार चङ्गा हो । यो चङ्गा हल्का हुने भएकाले उडाउन निकै सजिलो हुन्छ । यसको निर्माण प्रक्रिया पनि अरु चङ्गाको भन्दा सजिलो छ ।
स्टोन काइट : पाङग्रा जडित कुर्सीमा बसेर उडाइने चङ्गा नै स्टोन काइट हो । यो चङ्गा कुर्सीमा बसेर मात्र उडाइन्छ । चङ्गाको उडान गतिसँगै आफू पनि गुड्ने भएकाले रमाइलो मान्दै यो चङ्गा उडाइन्छ ।
फ्लेक्जिबल काइट : यो चङ्गा अरु भन्दा अलि जटिल हुन्छ । फ्लेक्जिबल काइट सन् १९६३ मा अमेरिकाबाट प्रचलनमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?