कैलाली । कैलालीका विभिन्न वन क्षेत्रमा गरिएको अतिक्रमण हटाउने अभियानअन्तर्गत शुक्रबार ४७ वटा कच्ची तथा पक्की संरचना भत्काइएको छ ।
डिभिजन वन कार्यालय कैलालीका अनुसार करिब ३५ हेक्टर वन क्षेत्रमा अवैध रूपमा निर्माण गरिएका घर, टहरा तथा अन्य संरचना हटाइएको हो ।
वरिष्ठ डिभिजनल वन अधिकृत राम विचारी ठाकुरले डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ वन अधिकृत जिवक्ष यादवको नेतृत्वमा खटिएको टोलीले गोदावरी नगरपालिकाअन्तर्गत भिमदत्त राजमार्ग आसपासका वन क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना भत्काएको जानकारी दिए ।
भ्यागुते पानी, बासपानी र गोदावरी क्षेत्र आसपासका वन क्षेत्रमा लामो समयदेखि अवैध रूपमा निर्माण गरिएका संरचना हटाएर वन क्षेत्रलाई अतिक्रमणमुक्त बनाइएको उनले बताए । वन संरक्षण, सीमाङ्कन कार्यलाई प्रभावकारी बनाउने तथा अतिक्रमण नियन्त्रण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको ठाकुरको भनाइ छ ।
अभियानमा डिभिजन वन कार्यालय कैलालीका १० वटै सव डिभिजन वन कार्यालयका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित करिब २०० जना जनशक्ति परिचालन गरिएको थियो ।
यसअघि पनि अत्तरिया आसपास तथा पूर्व पश्चिम राजमार्ग छेउका वन क्षेत्रमा बनाइएका अवैध संरचना हटाइएको थियो । वन क्षेत्रभित्र निर्माण गरिएका कच्ची घर, टहरा र अन्य संरचनाले वन संरक्षण तथा जैविक विविधतामा नकारात्मक असर पुर्याउँदै आएकाले अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिइएको वन कार्यालयले जनाएको छ ।
वन क्षेत्रको दीर्घकालीन संरक्षणका लागि नियमित अनुगमनसँगै अतिक्रमण पुनः नदोहोरियोस् भन्ने उद्देश्यले निगरानी थप कडा बनाइएको कार्यालयले जनाएको छ ।
महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार देशभर अतिक्रमणमा परेको करिब एक लाख चार हजार हेक्टर वन क्षेत्रमध्ये ३८ प्रतिशतभन्दा बढी अर्थात् करिब ३८ हजार ४० हेक्टर वन क्षेत्र कैलालीमा मात्र रहेको छ। यसकारण कैलाली वन अतिक्रमणको दृष्टिले देशकै सबैभन्दा संवेदनशील जिल्लामध्ये एक मानिन्छ । पछिल्ला वर्षहरूमा भने डिभिजन वन कार्यालयहरूले अतिक्रमण नियन्त्रण तथा हटाउने अभियानलाई तीव्रता दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया