रेमिटेन्स २७.२ प्रतिशतले वृद्धि, असोजमा मात्रै भित्रियो २ खर्ब ६७ अर्ब रुपैयाँ

लोकपथ
0
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालमा ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.२ प्रतिशतले बढी हो ।

यद्यपि, अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले बढेको थियो । यसले विप्रेषण भित्रिने क्रम बढे पनि वृद्धिदर भने सुस्त भएको देखाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको असोज महिनामा मात्रै २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । गत वर्षको असोजमा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो । यसरी एक वर्षको अवधिमा असोज महिनाको विप्रेषण आप्रवाह ६६ अर्ब १२ करोड रुपैयाँले बढेको छ ।

अमेरिकी डलरमा गणना गर्दा पनि विप्रेषण आप्रवाह बढेको देखिन्छ । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धि २९.२ प्रतिशत रहेको थियो । नेपाली रुपैयाँमा २७.२ प्रतिशतले बढेको विप्रेषण अमेरिकी डलरमा भने १६.७ प्रतिशतले मात्रै बढेको हो ।

यस अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर ७ खर्ब ६२ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६ खर्ब १० अर्ब ६१ करोड रुपैयाँ रहेको थियो ।

विप्रेषण आप्रवाह बढिरहे पनि वैदेशिक रोजगारीमा जाने नेपालीको नयाँ श्रम स्वीकृति लिने संख्या भने केही घटेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा संस्थागत तथा व्यक्तिगत रूपमा नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख २१ हजार ८७९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १ लाख २३ हजार ४५९ थियो ।

यस्तै, पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भने बढेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८२ हजार ३६९ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७७ हजार २५७ रहेको थियो ।

यसले नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि पहिले नै विदेशमा काम गरेर पुनः रोजगारीका लागि जाने नेपालीको संख्या बढेको देखाउँछ । समग्रमा विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि कायम रहे पनि अघिल्लो वर्षको तुलनामा यसको वृद्धिदर भने घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?