काठमाडौं । आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुपको भाइस प्रेसिडेन्ट पदमा नियुक्त गरेको छ । समूहले आफ्नो संगठनात्मक संरचनालाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले खड्कालाई उक्त जिम्मेवारी दिएको हो ।
नवनियुक्त भाइस प्रेसिडेन्ट खड्काले आईएमई ग्रुपअन्तर्गतका विभिन्न कम्पनीबीच समन्वय र सहकार्य बढाउने जिम्मेवारी सम्हाल्नेछन् । समूहका विभिन्न व्यवसायमा रहेको विशेषज्ञता, प्रविधि, बजार पहुँच तथा वितरण सञ्जाललाई एकीकृत गरी व्यवसायलाई थप प्रतिस्पर्धी बनाउने उनको मुख्य भूमिका रहनेछ ।
त्यस्तै, नयाँ सेवा तथा व्यावसायिक साझेदारी विकास गर्नुका साथै डिजिटल माध्यमबाट ग्राहकले प्राप्त गर्ने सेवाको अनुभव सुधार गर्ने योजनामा पनि खड्का केन्द्रित हुने समूहले जनाएको छ । नेपालको उदाउँदो डिजिटल अर्थतन्त्रमा आईएमई ग्रुपको योगदान विस्तार गर्न उनको नियुक्तिले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
चार्टर्ड एकाउन्टेन्टको पृष्ठभूमि भएका खड्कासँग कर्पोरेट क्षेत्रमा १५ वर्षभन्दा बढीको अनुभव छ। यसअघि उनले डिजिटल वालेट ईसेवाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा काम गरिसकेका छन् । वित्तीय सेवा तथा प्रविधिको क्षेत्रमा उनले विभिन्न महत्त्वपूर्ण जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।
खड्काको नियुक्तिबारे प्रतिक्रिया दिँदै आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले समूहअन्तर्गतका कम्पनीलाई संस्थागत रूपमा थप बलियो बनाउन यो निर्णय महत्त्वपूर्ण हुने बताए । डिजिटल रूपान्तरणलाई विस्तार गर्दै बजारमा नयाँ अवसर सिर्जना गर्न खड्का सफल हुने विश्वाससमेत उनले व्यक्त गरे ।
त्यस्तै, नवनियुक्त भाइस प्रेसिडेन्ट खड्काले समूहका प्राथमिकतालाई आत्मसात् गर्दै सबै सरोकारवालासँग सहकार्य गरेर परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
रेमिट्यान्स, बैंकिङ, बीमा, डिजिटल वित्तीय सेवा, पर्यटन, केबलकार, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि तथा उत्पादनलगायतका क्षेत्रमा लगानी विस्तार गरेको आईएमई ग्रुपले पछिल्लो नियुक्तिमार्फत आफ्नो व्यावसायिक गतिविधिलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया