जनकपुरधाम । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले वर्तमान सरकारले मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखेर विकास निर्माणका कार्यक्रम अघि बढाएको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनकपुरधाममा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सडक, खानेपानी, ढल निकास तथा ग्रामीण सडक पूर्वाधार निर्माणका लागि अन्य प्रदेशको तुलनामा मधेसमा बढी बजेट विनियोजन गरिएको जानकारी दिए ।
उनले मधेस प्रदेशका श्रमिकले देश निर्माणमा महत्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गर्दै सरकारले उनीहरूको श्रमको उचित मूल्यांकन गर्ने प्रयास गरेको बताए ।
‘देश मधेसले बनाउँछ, किनकि सबैभन्दा बढी बेल्चा चलाउने श्रमिक मधेसमै छन्,’ उनले भने, ‘यो सरकारले सबैभन्दा बढी न्याय बेल्चा चलाउने श्रमिकलाई गरेको छ । अब उप्रान्त मङ्सिर महिनादेखि बेल्चा चलाउने श्रमिकले दैनिक एक हजार ७०० रुपैयाँ कमाउने छन् ।’
हाल बेल्चा चलाउने श्रमिकले दैनिक ५०० रुपैयाँ मात्रै आम्दानी गरिरहेको उल्लेख गर्दै उनले सरकारले पारिश्रमिक वृद्धि गरेपछि त्यसबाट मधेसका श्रमिक बढी लाभान्वित हुने बताए ।
मन्त्री लम्सालले मधेसको विकास र यहाँका नागरिकको जीवनस्तर सुधार सरकारको प्राथमिकतामा रहेको भन्दै पूर्वाधार विकासका आयोजनालाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे ।
यसैबीच, मन्त्री लम्सालले आजै ढल्केबर–जनकपुरधाम सडकखण्डअन्तर्गत निर्माणाधीन बससी पुल, धनुषाको मिथिला बिहारी नगरपालिकास्थित कटरेत पुल, जालाद पुल सिर्सिया, इच्छापुरस्थित जालाद पुल र मिथिला सागर पुलको स्थलगत निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा उनले आयोजनाहरूको प्रगति, निर्माणको अवस्था र देखिएका समस्याबारे जानकारी लिएका थिए । उनले स्थानीयवासी तथा निर्माण कम्पनीका प्रतिनिधिसँग समेत छलफल गरेका थिए ।
मन्त्री लम्सालले विकास निर्माणका आयोजनाको प्रभावकारी कार्यान्वयन र निर्धारित समयमै सम्पन्न गर्ने विषयमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया