शेख हसिनाका समर्थकको प्रदर्शनपछि बङ्गलादेशमा सुरक्षा सतर्कता, सात जिल्लामा सुरक्षाकर्मी परिचालन

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकले राष्ट्रव्यापी प्रदर्शन र ‘लकडाउन’ को आह्वान गरेपछि बङ्गलादेश सरकारले राजधानी ढाकासहित सात जिल्लामा सयौँ सुरक्षाकर्मी परिचालन गरेको छ ।

विद्यार्थी नेतृत्वको आन्दोलनपछि सन् २०२४ अगस्टमा सत्ता गुमाएर भारत पलायन भएकी ७९ वर्षीया हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्कने घोषणा गरेपछि बङ्गलादेशको राजनीतिक वातावरण थप तनावपूर्ण बनेको हो ।

हसिनालाई प्रदर्शनकारीमाथि भएको घातक दमनसम्बन्धी मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै अदालतले उनको अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो ।

हसिनाको सम्भावित स्वदेश फिर्तीलाई लिएर पछिल्ला दिनमा बङ्गलादेशमा हिंसात्मक गतिविधि बढेका छन् । प्रतिबन्धित अवस्थामा रहेको उनको दल अवामी लिगले बिहीबार देशव्यापी प्रदर्शन र ‘लकडाउन’ आह्वान गरेको थियो ।

त्यसपछि सीमा सुरक्षा बल बङ्गलादेशले हसिनाको गृहनगर गोपालगञ्जसहित सात जिल्लामा सुरक्षाकर्मी परिचालन गरेको हो ।

पार्टीले समर्थकलाई घरभित्रै बस्न आह्वान गरे पनि उनीहरूले ढाकादेखि गोपालगञ्ज जोड्ने राजमार्गका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण यातायातसमेत अवरुद्ध भएको छ । केही स्थानमा आगजनी र हिंसात्मक घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

यसैबीच, प्रधानमन्त्री तारिक रहमानले राजनीतिक विरोधीहरूले देशलाई अस्थिर बनाउन खोजेको आरोप लगाएका छन् । उनले लोकतन्त्र समर्थक शक्तिहरूलाई एकजुट हुनसमेत आग्रह गरेका छन् ।

प्रहरीका अनुसार अवामी लिगसँग सम्बन्धित १०७ जनालाई बुधबारदेखि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदसमेत रहेका छन् ।

हसिनाले पछिल्ला सातामा आफ्ना समर्थकलाई सम्बोधन गर्दै डिसेम्बरमा स्वदेश फर्किने प्रतिबद्धता दोहोर्‍याउँदै आएकी छन् । उनको घोषणासँगै बङ्गलादेशमा राजनीतिक तनाव र सुरक्षा चुनौती थप बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?