काठमाडौं । एनसेलले आफ्नो थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने तयारी गरेको छ। कम्पनीले बाँकी रहेका सबै थ्रीजी साइट एक महिनाभित्र बन्द गर्ने प्रक्रिया सुरु गरेको हो ।
एनसेलका अनुसार कम्पनीका कुल ३ हजार १२९ थ्रीजी साइटमध्ये अहिलेसम्म ९९२ वटा बन्द भइसकेका छन् । अब बाँकी रहेका २ हजार १३७ वटा साइट पनि चरणबद्ध रूपमा बन्द गरिनेछन् ।
कम्पनीले चार चरणमा थ्रीजी सेवा बन्द गर्ने योजना बनाएको छ । पहिलो चरणमा मंसिर ७ गते लुम्बिनी र गण्डकी प्रदेशका साइट बन्द गरिनेछन् । दोस्रो चरणमा मंसिर १४ गते काठमाडौं, ललितपुर र भक्तपुरका साइट बन्द हुनेछन् ।
त्यस्तै, तेस्रो चरणमा मंसिर २१ गते मधेश र गण्डकी प्रदेशका बाँकी स्थान तथा चितवनमा सेवा बन्द गरिनेछ । अन्तिम चरणमा मंसिर २६ गते मधेश र कोशी प्रदेशका बाँकी साइट बन्द गरिने कम्पनीले जनाएको छ ।
एनसेलले सन् २०१७ मा सुरु गरेको थ्रीजी सेवा आगामी पुस २ गतेदेखि पूर्ण रूपमा बन्द हुनेछ । त्यसपछि ग्राहकले फोरजी प्रविधिमार्फत इन्टरनेट र भ्वाइस कल सेवा प्रयोग गर्न सक्नेछन् ।
फोरजीमा आधारित भोल्टे प्रविधिबाट ग्राहकले पहिलेभन्दा स्पष्ट आवाजमा फोन गर्न र छिटो कल जोडिने सुविधा पाउनेछन् । यस प्रविधिमा फोनमा कुरा गर्दै एकै समयमा फोरजी इन्टरनेट पनि चलाउन सकिन्छ। तर, यसका लागि फोरजी सिम र भोल्टे सुविधा भएको मोबाइल आवश्यक पर्छ ।
एनसेलकी नेटवर्क प्रमुख लेना केशरी कंसाकारले पुरानो प्रविधिलाई हटाएर नयाँ र छिटो प्रविधि विस्तार गर्न थ्रीजी सेवा बन्द गर्न लागिएको बताएकी छन्। उनका अनुसार यसले फोरजी नेटवर्कको क्षमता बढाउन र भविष्यमा फाइभजी प्रविधि भित्र्याउन तयारी गर्न सहयोग गर्नेछ ।
थ्रीजी सेवा बन्द भए पनि ग्राहक आधारभूत दूरसञ्चार सेवाबाट वञ्चित नहुने कम्पनीले जनाएको छ । फोरजी प्रयोग गर्न नसक्ने ग्राहकले टुजी नेटवर्कमार्फत फोन गर्न र एसएमएस पठाउन सक्नेछन् ।
हाल एनसेलको फोरजी सेवा नेपालको करिब ९५ प्रतिशत जनसंख्यामा पुगिसकेको छ । तर, कम्पनीका सक्रिय ग्राहकहरूमध्ये करिब ५ प्रतिशतले अझै फोरजी सिम प्रयोग गरेका छैनन् ।
त्यस्ता ग्राहकलाई लक्षित गर्दै एनसेलले निःशुल्क फोरजी सिम उपलब्ध गराउँदै आएको छ। ग्राहकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक बिक्री केन्द्रमा गएर आफ्नो पुरानो सिम फोरजीमा परिवर्तन गर्न सक्नेछन् । नयाँ फोरजी सिम लिँदा सात दिनसम्म प्रयोग गर्न मिल्ने २ जीबी इन्टरनेट डेटा पनि निःशुल्क पाइने कम्पनीले जनाएको छ ।
थ्रीजी सेवा बन्द भएपछि त्यसका लागि प्रयोग हुँदै आएको फ्रिक्वेन्सी फोरजी नेटवर्कमा प्रयोग गरिनेछ । यसबाट इन्टरनेटको गति, नेटवर्क क्षमता र सेवाको गुणस्तर सुधार हुने एनसेलको अपेक्षा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया