काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका असन्तुष्टि र आन्तरिक छलफलका विषय सामाजिक सञ्जालमा सार्वजनिक नगर्न नेता तथा कार्यकर्तालाई चेतावनी दिएका छन् ।
पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले पार्टीभित्रका विषय फेसबुकमा लेखेर विरोधीलाई खेल्ने मौका दिनु अनुशासनहीन गतिविधि भएको बताएका हुन् ।
उनले यसअघिका अनुशासन उल्लंघनका घटनालाई माफी दिइएको भन्दै अब त्यस्ता गतिविधि दोहोरिए स्वीकार्य नहुने स्पष्ट पारे । ओलीले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकलाई ‘कटअफ बैठक’को संज्ञा दिँदै उक्त बैठकअघि भएका सामाजिक सञ्जालमा लेख्ने र अनुशासन उल्लंघन गर्ने गतिविधिलाई क्षमा गरिएको बताए ।
उनले भने, ‘त्यसभन्दा अगाडि जसले अनुशासनहीन काम गरेको भए पनि, सामाजिक सञ्जालमा गएको भए पनि, फेसबुक रङ्गाएको भए पनि, अनुशासन तोडेको भए पनि अस्तिको केन्द्रीय कमिटी बैठकको मितिभन्दा अगाडिका कुराहरूलाई क्षमा गरिएको छ । अब त्यही कुरा दोहोरिए स्वीकार्य हुँदैन ।’
ओलीले महाधिवेशनमा नेतृत्वका विषयमा असहमति राखेर विपक्षमा मतदान गरेका नेताहरूले पनि महाधिवेशनको निर्णय स्वीकार गरेर अर्को महाधिवेशनसम्म पर्खिनुपर्ने बताए ।
‘महाधिवेशनमा हामी थियौँ होइन र ? केही साथीले चित्त नबुझेर विपक्षमा भोट हाल्या होइन ? महाधिवेशनको निर्णय सर्लक्क मानेर अर्को महाधिवेशनसम्म जानु परेन ? अनि बीचमा जहिले पनि त्यही एकतारे बजाएर र्याइँ–र्याइँ गरिरहने ?’ उनले प्रश्न गरे ।
उनले पार्टीका कमिटीमा आफूलाई समावेश नगरिएको भन्दै गरिने गुनासो पनि उचित नभएको बताए । कमिटीमा राख्दैमा कसैको विचार र अभिव्यक्ति स्वतन्त्रता नरोकिने उनको भनाइ थियो ।
पार्टीभित्रका विषयमा असहमति भए सम्बन्धित कमिटीमा छलफल गर्न सकिने उल्लेख गर्दै ओलीले सामाजिक सञ्जालमार्फत असन्तुष्टि सार्वजनिक नगर्न आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया