महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान

लोकपथ
0
Shares

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–१, कुहुँस्थित श्री दिपशिखा माध्यमिक विद्यालयमा आयोजित शैक्षिक एवं धार्मिक महोत्सव तथा श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा अष्ट्रेलियामा बसोबास गर्दै आएका समाजसेवी मुक्तिप्रसाद रोका परिवारले १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान गरेका छन् ।

मंगला गाउँपालिका–१, तुसारपानी स्थायी घर भई हाल अष्ट्रेलियामा व्यवसाय गर्दै आएका मुक्तिप्रसाद रोका, उनकी श्रीमती टीकामाया रोका, छोरा समीर रोका र छोरी सृष्टि रोकाले संयुक्त रूपमा उक्त रकम सहयोग गरेका हुन् ।

विद्यालयको शैक्षिक विकास, स्मार्ट प्रविधिमैत्री तथा व्यावहारिक शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महायज्ञमा सहयोग गर्न रोका परिवार गाउँमै उपस्थित भएको थियो ।

महायज्ञमा सहभागी हुन बुधबार कुहुँ आइपुगेका रोकालाई स्थानीयवासीले घरमै पुगेर बाजागाजा तथा भजनकीर्तनसहित महायज्ञस्थलमा ल्याई सम्मान गरेका थिए ।

लामो समयदेखि अष्ट्रेलियामा व्यवसाय गर्दै आएका रोका विदेशमा समस्यामा परेका नेपालीहरूलाई सहयोग गर्नुका साथै आफ्नो जन्मभूमि म्याग्दीको शिक्षा, स्वास्थ्य, खानेपानीलगायत सामाजिक तथा विकास निर्माणका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएका छन् ।

विशेषगरी म्याग्दीको खेलकुद क्षेत्रको विकासमा समेत रोकाको उल्लेखनीय योगदान रहँदै आएको छ । खेलकुद क्षेत्रको प्रवर्द्धन र खेलाडीहरूको प्रोत्साहनका लागि खेलमैदान निर्माणदेखि विभिन्न खेलकुद प्रतियोगिता सञ्चालनसम्म उनले आर्थिक सहयोग गर्दै आएका छन् ।

विदेशमा रहेर पनि आफ्नो जन्मभूमि, समाज र जिल्लाको विकासमा निरन्तर योगदान पुर्‍याउँदै आएका रोका परिवारको यो सहयोगले स्थानीय शैक्षिक विकासमा थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

विद्यालयको शैक्षिक तथा भौतिक विकास र प्रविधिमैत्री शिक्षाको विस्तार गर्ने उद्देश्यले आयोजित महायज्ञमा रोका परिवारले गरेको उदार सहयोगप्रति विद्यालय परिवार तथा महायज्ञ मूल समारोह समितिले आभार व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?