काठमाडौं । सामसङ नेपाल र एनसेलले ग्राहकलाई स्मार्टफोन किन्न सजिलो बनाउने उद्देश्यले सहकार्य गरेका छन् । दुई कम्पनीले पुराना २जी मोबाइल प्रयोगकर्तालाई फोरजीमा ल्याउने र एआई सुविधा भएका स्मार्टफोनको प्रयोग बढाउने विषयमा सम्झौता गरेका हुन् ।
सम्झौताअनुसार सामसङका विभिन्न मोडलका स्मार्टफोन किन्ने ग्राहकले एनसेलको डेटा र भ्वाइस प्याक निःशुल्क पाउनेछन् । पुरानो २जी मोबाइल साटेर सामसङको फोरजी मोबाइल किन्दा ५ हजार रुपैयाँसम्म छुट पनि पाइनेछ ।
ग्यालेक्सी जेड र एस सिरिजका छनोट गरिएका मोबाइल किन्ने ग्राहकले १२ महिनासम्म हरेक महिना ७९९ रुपैयाँ मूल्यको एनसेल प्याक निःशुल्क पाउनेछन् । उक्त प्याकमा अनलिमिटेड डेटा र भ्वाइस, लायन्सगेट तथा दैनिक १०० एसएमएस सुविधा छ ।
त्यस्तै, ग्यालेक्सी ए१७, एम१७ र ए०७एस किन्ने ग्राहकले नौ महिनासम्म हरेक महिना ४४९ रुपैयाँ मूल्यको प्याक निःशुल्क पाउनेछन् । यसमा ७ जीबी डेटा र अनलिमिटेड भ्वाइस सुविधा हुनेछ ।
पुरानो मोबाइल साटेर नयाँ किन्न सकिने
ग्राहकले आफूसँग भएको कुनै पनि २जी मोबाइल बुझाएर सामसङको फोरजी स्मार्टफोन किन्दा ५ हजार रुपैयाँसम्म छुट पाउनेछन् । यस योजनामा मासिक १ हजार २२१ रुपैयाँदेखि किस्ता तिर्न सकिने सुविधा पनि छ ।
पुराना मोबाइल कम्पनीले नै संकलन गर्ने र उचित तरिकाले व्यवस्थापन गर्ने जनाएको छ ।
३६ महिनासम्म किस्तामा मोबाइल किन्न पाइने
सामसङले हुलास फिन सर्भिससँग मिलेर किस्ताबन्दीमा मोबाइल किन्ने सुविधा पनि ल्याएको छ । ग्राहकले सामसङका मोबाइल २४ महिनासम्म र छनोट गरिएका महँगा मोडल ३६ महिनासम्म किस्तामा किन्न सक्नेछन् ।
यसका लागि सुरुमा मोबाइलको मूल्यको २० प्रतिशत रकम बुझाउनुपर्नेछ । ३६ महिनाको योजनामा मासिक ५ हजार १०६ रुपैयाँदेखि किस्ता तिर्न सकिने कम्पनीले जनाएको छ ।
छनोट गरिएका ग्यालेक्सी जेड र एस सिरिजका मोबाइल किन्दा १० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस र एक वर्षको थप वारेन्टी पनि पाइनेछ । ए१७, एम१७ र ए०७एसमा भने ५ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस उपलब्ध हुनेछ ।
एपबाटै पुरानो मोबाइलको मूल्य थाहा हुने
पुरानो मोबाइल साट्दा त्यसको मूल्य कति हुन्छ भन्ने थाहा पाउन सामसङले फोनशील्ड नामको एपमा आधारित प्रणाली ल्याउने भएको छ ।
यो प्रणालीले मोबाइलको बाहिरी अवस्था र काम गर्ने क्षमताको जाँच गरेर मूल्य निर्धारण गर्नेछ । यो सुविधा सामसङका सेवा केन्द्र र छनोट गरिएका पसलमा उपलब्ध हुनेछ ।
सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ जुङले यो सहकार्यले एआई प्रविधि धेरै ग्राहकसम्म पुर्याउन र पुराना मोबाइल प्रयोगकर्तालाई फोरजीमा जोड्न सहयोग गर्ने बताए ।
त्यस्तै, एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्ग दत्तले सामसङको प्रविधि र एनसेलको नेटवर्कमार्फत डिजिटल सेवाको पहुँच बढाउने बताए ।
यसैबीच, सामसङले नोभेम्बर २० देखि २३ सम्म स्मार्टफोनको प्रि-अर्डर खुलाउने भएको छ । क्यूआर कोडमार्फत मोबाइल बुक गर्ने ग्राहकले ४ हजार ९९९ रुपैयाँ मूल्यको ग्यालेक्सी बड्स कोर ६२ प्रतिशत छुटमा पाउने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया