काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो रुस भ्रमण सफल भएको बताएका छन् ।
‘फ्रिडम अफ नेसन्स’ को विश्व सम्मेलनमा भाग लिन केही समयअघि त्यसतर्फ प्रस्थान गरेका प्रचण्ड बिहीबार स्वदेश फर्किँदै विमानस्थलमा त्यसबारे जानकारी गराएका हुन् ।
उक्त कार्यक्रममा आफूलाई दक्षिण एशियाकै विशिष्ट नेताका रुपमा परिचित गराएको दाबी गरे । कार्यक्रमका उद्घोषकहरुले आफ्नो बारेमा तारिफ गरेको दाबी गरे ।
‘फ्रिडम अफ नेसन्सको उद्घोषण गर्ने क्रममा नै उद्घोषकहरुले मेरा बारेमा अलि विशिष्ट ढंगले त्यहाँ प्रस्तुत गरिदिनुभयो । उहाँहरुले त्यसरी नै बुझ्नुभएको रहेछ । उहाँले एशियाकै विशिष्ट नेताका रुपमा युद्धको कमाण्डर र शान्तिको पनि नेता तथा गणतन्त्रपछिको देशको पहिलो प्रधानमन्त्री भनेर भनिदिँदाखेरी विश्वभरीका साढे ४ सय नेताहरु थिए त्यहाँ । त्यसमा चाँही एउटा राम्रो आकर्षण पैदा भयो,’ उनले भने ।
यसैगरी ३ दिनको छलफलको क्रममा आफूले २ पटक सम्बोधन गर्ने अवसर प्राप्त गरेको र त्यसमा नेपाल र अन्तर्राष्ट्रिय राजनीतिका बारेमा आफूले धारणा राखेको बताए । साथै आफूहरुको अन्तर्राष्ट्रिय पोजिसनहरुबारे समेत आफूले स्पष्ट पारेको उनको भनाइ रहेको छ ।
‘तीन दिनको छलफलमा मैले २ पटक बोल्ने अवसर प्राप्त गरेँ । पहिला मैले नेपालको बारेमा र नेपालको स्थितिको बारेमा मुख्यरुपमा केन्द्रित भएर बिचारहरु राखेँ । र दोस्रो दिन फ्रिडम अफ नेसन्सको जनरल एसेम्ब्ली थियो, त्यसमा मैले विश्व परिस्थितिबारे र हाम्रो अन्तर्राष्ट्रिय पोजिसनहरुबारे प्रष्टसँग कुराहरु राखेँ,’ उनले भने ।
आफूले सो अवसरमा विश्व राजनीतिबारे धारणा राख्दा आफूलाई प्रशंसा गरेको समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया