आगामी निर्वाचन सामान्य हुँदैन, दुई शक्तिबीच भीषण संघर्ष हुन्छ : बादल

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले पार्टीभित्र आन्तरिक एकता कमजोर हुँदा निर्वाचनमा हार बेहोर्नुपरेको बताएका छन् ।

काठमाडौंमा बिहीबार जारी एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले विगतका निर्वाचनमा पार्टीले आफ्ना कमजोरी र प्रमुख प्रतिस्पर्धीलाई सही ढंगले पहिचान गर्न नसकेको बताएका हुन् ।

उनले पार्टीभित्र एकता कायम गर्न नसक्नु र जनतासँग प्रत्यक्ष सम्बन्ध बनाउन नसक्नु पनि हारका कारण रहेको उल्लेख गरे ।

बादलले पार्टी नेतृत्वको वरिपरि एकजुट हुँदा एमालेले जित हासिल गरेको तर नेतृत्वविरुद्ध उभिँदा हार बेहोर्नुपरेको बताए ।

‘जब हामीले मुख्य प्रतिद्वन्द्वीविरुद्ध सहकार्य गरेका छौँ, तब जितेका छौँ । जब हामी नेतृत्वको वरिपरि गोलबन्द भएका छौँ, तब हामी विजयी भएका छौँ । नेतृत्वविरुद्ध उभिँदा भने दुवै पक्ष हारेका छौँ,’ उनले भने ।

उनले आगामी निर्वाचन असामान्य राजनीतिक परिस्थितिमा हुन लागेको पनि बताए । घटनाक्रममा अप्रत्याशित परिवर्तन नभए आगामी वर्ष चुनावी वर्ष हुने उनको भनाइ छ ।

बादलले आगामी निर्वाचनलाई लोकप्रियतावादी तथा फाँसीवादी शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीचको प्रतिस्पर्धाका रूपमा व्याख्या गरे ।

उनका अनुसार अब हुने निर्वाचन सामान्य प्रतिस्पर्धामा सीमित हुने छैन । राष्ट्रियसभा गठन, संविधानको प्रमाणीकरणलगायत विषयमा पनि आगामी निर्वाचनको परिणाम महत्वपूर्ण हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?