नेपाल बैंक ९०औँ वर्षमा प्रवेश, ८९ वर्षमा यस्तो रह्यो बैंकको यात्रा

लोकपथ
0
Shares

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो स्थापना भएको ८९ वर्ष पूरा गरेको छ । बैंकले आज (कात्तिक ३०) देखि ९०औँ वर्षमा प्रवेश गरेको हो ।

वि.सं. १९९४ कात्तिक ३० गते १० जना लगानीकर्ताको पहलमा स्थापना भएको नेपाल बैंक नेपालको पहिलो बैंक हो ।

सार्वजनिक–निजी साझेदारीको अवधारणामा स्थापना भएको बैंकको मुख्य उद्देश्य सर्वसाधारणमा बचत गर्ने बानीको विकास गर्नु र उद्योग तथा व्यवसायलाई आर्थिक सहयोग गर्नु थियो ।

स्थापना हुँदा बैंकको चुक्ता पुँजी ८ लाख ४२ हजार रुपैयाँ मात्रै थियो । अहिले बैंकको चुक्ता पुँजी बढेर १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंक स्थापना हुनुअघि नेपाल बैंकले झन्डै दुई दशकसम्म केन्द्रीय बैंकको जिम्मेवारीसमेत सम्हालेको थियो । वि.सं. २००२ मा नेपाल सरकारले पहिलोपटक कागजी नोट निष्कासन गर्दा त्यसको व्यवस्थापनमा पनि नेपाल बैंकले महत्वपूर्ण भूमिका खेलेको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयका अनुसार निरन्तर सेवा र समयअनुसारको परिवर्तनका कारण नेपाल बैंक नेपाली बैंकिङ क्षेत्रको महत्वपूर्ण संस्थाका रूपमा स्थापित भएको छ ।

बैंकको पछिल्लो वित्तीय विवरणअनुसार कुल निक्षेप ४ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह २ खर्ब ६२ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको कुल नेटवर्थ ४२ अर्ब २७ करोड र जगेडा कोषमा २७ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।

हाल नेपाल बैंकले देशभरका २३० शाखा, ५७ एक्सटेन्सन काउन्टर र २५० एटीएममार्फत सेवा दिँदै आएको छ । बैंकमा करिब ३ हजार ६ सय कर्मचारी कार्यरत छन् भने ग्राहक संख्या २९ लाख २४ हजारभन्दा बढी पुगेको छ ।

बदलिँदो प्रविधिसँगै बैंकले डिजिटल सेवालाई पनि विस्तार गर्दै लगेको छ । मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १० लाख नाघिसकेको छ । डिजिटल सेवाका कारण ग्राहकले सामान्य बैंकिङ कारोबारका लागि शाखामै पुग्नुपर्ने बाध्यता पनि कम भएको छ ।

९०औँ वर्षमा प्रवेश गरेको नेपाल बैंकले आगामी दिनमा डिजिटल सेवालाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ । नयाँ पुस्तालाई प्रविधिमैत्री सेवामार्फत आकर्षित गर्नु र लामो समयदेखि कायम रहेको ग्राहकको विश्वासलाई अझ बलियो बनाउनु बैंकका मुख्य प्राथमिकता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?