काठमाडौं । वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । २० वाणिज्य बैंकमध्ये ६ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएपछि औसत अधिकतम ब्याजदर ४ प्रतिशतभन्दा तल झरेको छ ।
बैंकिङ प्रणालीमा निक्षेप बढ्दै गए पनि कर्जाको माग अपेक्षाअनुसार बढ्न नसक्दा बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको छ । रेमिट्यान्स आप्रवाहमा वृद्धि भएपछि बैंकमा निक्षेप आउने क्रम जारी रहे पनि कर्जा लगानी विस्तार हुन नसकेको हो । यही कारण बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै लगेका छन् ।
मंसिर महिनाका लागि २० वाणिज्य बैंकमध्ये ६ वटाले ब्याजदर घटाएका छन् भने १४ बैंकले कात्तिक महिनाकै दरलाई निरन्तरता दिएका छन् । कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन् ।
ब्याजदर सबैभन्दा धेरै घटाउनेमा माछापुच्छ्रे बैंक रहेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर १ प्रतिशत बिन्दुले घटाएर ३।५ प्रतिशत कायम गरेको छ । त्यस्तै, कृषि विकास बैंकले ०.५ प्रतिशत बिन्दुले घटाएर ३.६५ प्रतिशतमा झारेको छ ।
एनएमबी बैंकले व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपको ब्याजदर ०।२५ प्रतिशत बिन्दुले घटाएको छ । यसैगरी लक्ष्मी सनराइज, कुमारी र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् ।
मंसिर महिनामा सबैभन्दा बढी ब्याजदर दिने बैंक सानिमा रहेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४.५ प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै, प्रभु बैंकले ४.२५ प्रतिशत र नेपाल बैंकले ४.१५ प्रतिशत ब्याजदर कायम गरेका छन् । अन्य केही बैंकले अधिकतम ४ प्रतिशत ब्याज दिने भएका छन् ।
ब्याजदर घटेसँगै व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर कात्तिक महिनाको ४.०१३ प्रतिशतबाट घटेर मंसिरमा ३.९०६ प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थागत निक्षेपको औसत अधिकतम ब्याजदर पनि ३.००३ प्रतिशतबाट घटेर २।९९०५ प्रतिशत कायम भएको छ ।
मंसिर महिनाका लागि एभरेष्ट, नेपाल एसबिआई, ग्लोबल आइएमई, प्राइम, सिटिजन्स, प्रभु, हिमालयन, सिद्धार्थ, नबिल, सानिमा, राष्ट्रिय वाणिज्य, नेपाल इन्भेस्टमेन्ट मेगा र एनआईसी एसिया बैंकले भने कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
बैंकहरूमा तरलता पर्याप्त रहे पनि कर्जाको माग कमजोर हुँदा निक्षेपको ब्याजदरमा थप दबाब परेको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया