काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले मंसिर ९ गतेदेखि नबिल ग्रोथ फण्डको इकाई बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यस योजनाका लागि १० करोड इकाई निष्कासन गर्न लागेको हो । प्रतिइकाई १० रुपैयाँ मूल्य तोकिएको फण्डको कुल आकार एक अर्ब रुपैयाँ रहेको छ ।
कुल निष्कासन गरिने इकाईमध्ये एक करोड ४० लाख इकाई नबिल बैंकका लागि र १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङका लागि छुट्याइएको छ । बाँकी आठ करोड ५० लाख इकाई सर्वसाधारणले खरिद गर्न पाउनेछन् ।
लगानीकर्ताले मंसिर १४ गतेसम्म आवेदन दिन सक्नेछन् । यस फण्डमा न्यूनतम १०० इकाई र अधिकतम एक करोड इकाईसम्मका लागि आवेदन दिन सकिनेछ ।
यो १० वर्ष अवधिको बन्दमुखी म्युचुअल फण्ड योजना हो । फण्ड सञ्चालनका लागि कम्तीमा पाँच करोड इकाई बिक्री हुनुपर्नेछ । यदि सोभन्दा कम आवेदन परेमा निष्कासन रद्द गरिनेछ । यस्तो अवस्थामा आवेदन दिएका लगानीकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया १५ दिनभित्र सुरु गरिने कम्पनीले जनाएको छ ।
यस फण्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया