टर्कीका विद्यालयमा मन्त्री पोखरेलको अवलोकन : बालमैत्री र हरित शिक्षाका अभ्यासबारे चासो

लोकपथ
0
Shares

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले टर्कीको एन्टाल्यास्थित बालविकास केन्द्र तथा ‘हरित विद्यालय’ मोडलको स्थलगत अवलोकन गरेका छन् ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्की पुगेका मन्त्री पोखरेलले सम्मेलनका कार्यक्रमसँगै त्यहाँको शैक्षिक अभ्यासबारे जानकारी लिएका हुन् ।

टर्कीका राष्ट्रिय शिक्षामन्त्री युसुफ तेकिनले नेपाली समकक्षी पोखरेललाई एन्टाल्याको मुरातपासा जिल्लास्थित ‘१५ जुलाई सहिद बालविकास केन्द्र’ अवलोकन गराएका थिए ।

अवलोकनका क्रममा मन्त्री पोखरेलले बालबालिकालाई सानै उमेरदेखि प्रकृति, वातावरण संरक्षण र दिगो विकाससँग जोड्ने टर्कीको शैक्षिक अभ्यासबारे चासो राखेका थिए ।

उनले विद्यालय परिसरमा सञ्चालन गरिएका विभिन्न कार्यशाला, बिरुवा उत्पादन क्षेत्र, शून्य फोहोर परियोजना, पुनः प्रयोगसम्बन्धी अभ्यास तथा मिनी ग्रीनहाउसको निरीक्षण गरेका थिए । त्यहाँ बालबालिकाले गोलभेँडालगायतका तरकारी तथा विभिन्न बिरुवा आफैँ उत्पादन गर्ने अभ्यास गरिरहेका छन् ।

सो अवसरमा दुवै देशका शिक्षामन्त्रीले शिक्षक तथा अभिभावकसँग संवाद गर्दै पूर्वप्राथमिक शिक्षा, सामुदायिक विद्यालय सञ्चालन, शैक्षिक पूर्वाधार र अभिभावक तथा विद्यालयबीचको सहकार्यका विषयमा अनुभव आदानप्रदान गरेका थिए ।

भ्रमणका क्रममा बालविकास केन्द्रका विद्यार्थीले परम्परागत टर्किस लोकनृत्य प्रस्तुत गरी अतिथिहरूको स्वागत गरेका थिए । मन्त्री पोखरेल र टर्किस शिक्षामन्त्री तेकिनले बालबालिकाको सिर्जनशीलताको प्रशंसा गर्दै उनीहरूसँग अन्तरक्रियासमेत गरेका थिए ।

अवलोकनपछि मन्त्री पोखरेलले बालबालिकामा सानै उमेरदेखि प्रकृतिप्रतिको प्रेम, शून्य फोहोरको बानी र जलवायु परिवर्तनसम्बन्धी चेतना विकास गर्न सके भविष्यको पुस्तालाई वातावरणमैत्री बनाउन सकिने धारणा राखेका थिए ।

उनले नेपालमा पनि विद्यालय शिक्षालाई किताबी ज्ञानमा मात्र सीमित नराखी प्रकृति, व्यवहार र स्थानीय परिवेशसँग जोड्ने प्रयास भइरहेको बताए । टर्कीको शैक्षिक अभ्यासबाट नेपालले पनि सिक्न सक्ने उनको भनाइ थियो ।

नेपालमा विद्यालयको भौतिक पूर्वाधारको वैज्ञानिक मूल्याङ्कनसँगै राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गरी जलवायु परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी शिक्षालाई विद्यालय तहको पाठ्यक्रममा समेट्ने प्रक्रिया अघि बढाइएको छ ।

टर्किस समकक्षीसँगको भेटघाट र विद्यालयको स्थलगत अवलोकनले नेपालको विद्यालय शिक्षा सुधार तथा हरित विद्यालय निर्माणमा सहयोग पुग्ने मन्त्री पोखरेलले विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?