काठमाडौं । सुडानको पश्चिम कोर्डोफान राज्यस्थित एक गाउँमा सेनाले गरेको ड्रोन आक्रमणमा फुटबल खेलिरहेका चार बालबालिकासहित १५ जनाको मृत्यु भएको छ ।
आइतबार अबु कल्ब गाउँमा भएको उक्त आक्रमणमा केही व्यक्ति घाइते भएका छन् भने कैयौँ घरमा आगलागी भएको छ । स्थानीय अधिकार अनुगमन संस्था कोर्डोफान अब्जर्भेटरीका अनुसार सेनाले एउटै क्षेत्रमा दुईपटक ड्रोन प्रहार गरेको थियो ।
पहिलो ड्रोन गाउँको सार्वजनिक चोकमा प्रहार गरिएको थियो । त्यतिबेला त्यहाँ बालबालिका फुटबल खेलिरहेका थिए । दोस्रो प्रहार स्थानीय बासिन्दाका घरमा गरिएको थियो, जसका कारण धेरै घरमा आगलागी भएको संस्थाले जनाएको छ ।
सुरक्षा जोखिमका कारण नाम सार्वजनिक नगर्ने सर्तमा एक जीवित व्यक्तिले स्याटेलाइट इन्टरनेटमार्फत घटनाबारे जानकारी दिएका छन् । उनका अनुसार आक्रमणमा ज्यान गुमाउने १५ जनामध्ये नौ जना उनका आफन्त थिए । युद्धका क्रममा यसअघि नै बुबा गुमाएका दुई बालबालिकासमेत आक्रमणमा मारिएको उनले बताएका छन् ।
सुडानमा सन् २०२३ अप्रिलदेखि सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीच युद्ध जारी छ । आरएसएफको नियन्त्रणमा रहेका क्षेत्र पुनः कब्जा गर्ने प्रयासस्वरूप सुडानी सेनाले पश्चिम कोर्डोफान राज्यमा प्रत्याक्रमण गरिरहेको छ । सोही क्रममा गाउँमा ड्रोन आक्रमण भएको हो ।
सहायता क्षेत्रमा कार्यरत अधिकारीहरूका अनुसार सुडानको युद्धमा अहिलेसम्म दुई लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको अनुमान छ । युद्धका कारण देशमा विश्वकै ठूलो भोकमरी र विस्थापन सङ्कटसमेत उत्पन्न भएको छ ।
संयुक्त राष्ट्रसङ्घले युद्धरत दुवै पक्षले व्यापक रूपमा ड्रोन प्रयोग गरिरहेको भन्दै चिन्ता व्यक्त गर्दै आएको छ । राष्ट्रसङ्घका अनुसार सन् २०२६ को पहिलो छ महिनामा मात्रै ड्रोन आक्रमणमा एक हजार १०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।
यसै साता राष्ट्रसङ्घले यस वर्ष बालबालिकासम्बन्धी भएका सयौँ हताहतीमध्ये करिब दुई तिहाइको मृत्यु वा घाइते हुनुमा ड्रोन आक्रमण जिम्मेवार रहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया