काठमाडौं । चर्चित मोटरसाइकल निर्माता कम्पनी रोयल इनफिल्डले आफ्नो नयाँ विद्युतीय मोटरसाइकल ‘फ्लाइङ फ्लिया एस ६’ सार्वजनिक गरेको छ । कम्पनीले इटालीमा आयोजित इक्मा अटो शो २०२६ मा पहिलो पटक यो मोटरसाइकल सार्वजनिक गरेको हो ।
भारतमा उत्पादन हुने यो मोटरसाइकल विशेषगरी कच्ची सडक, खराब बाटो र अफरोड राइडिङका लागि तयार पारिएको हो । यसअघि कम्पनीले विकास गरेको फ्लाइङ फ्लिया सी ६ को हलुका प्लेटफर्ममा आधारित रहेर एस ६ निर्माण गरिएको हो ।
नयाँ मोटरसाइकल डार्ट पहेँलो र लाइटनिङ ग्रे गरी दुई रङमा उपलब्ध हुनेछ । यसको अगाडि ठूलो र पछाडि सानो वायर स्पोक ह्विल, ब्लक प्याटर्न टायर, अग्लो फ्रन्ट मडगार्ड र लामो सिट राखिएको छ । यी विशेषताले मोटरसाइकललाई आकर्षक स्क्र्याम्बलर लुक दिएका छन् ।
१५४ किलोमिटरसम्म रेन्ज दिने अनुमान
कम्पनीले मोटरसाइकलको सम्पूर्ण प्राविधिक विवरण सार्वजनिक गरिसकेको छैन । तर, यसमा फ्लाइङ फ्लिया सी ६ मा जस्तै ३.९१ किलोवाट आवरको ब्याट्री प्याक र १५.४ किलोवाट क्षमताको मोटर रहने अनुमान गरिएको छ ।
उक्त मोटरले ६० एनएमसम्म टर्क उत्पादन गर्न सक्नेछ । एक पटक पूर्ण चार्ज गर्दा मोटरसाइकलले १५४ किलोमिटरसम्म दूरी तय गर्न सक्ने अपेक्षा गरिएको छ । यसमा परम्परागत चेन ड्राइभ प्रणाली प्रयोग गरिएको छ ।
टचस्क्रिनसहित आधुनिक फिचर
फ्लाइङ फ्लिया एस ६ मा गोलाकार रंगीन टचस्क्रिन डिस्प्ले दिइएको छ । यसमा रोयल इनफिल्डको आफ्नै ‘फ्लाइवेर ओएस’ अपरेटिङ सिस्टम प्रयोग गरिएको छ । डिस्प्लेमार्फत मोटरसाइकलको गति, ब्याट्रीको अवस्था र बाँकी रेन्जलगायत जानकारी हेर्न सकिनेछ ।
त्यस्तै, यसमा विभिन्न राइडिङ मोडका साथै अफरोड मोड पनि उपलब्ध हुनेछ । यसले कच्ची तथा अप्ठ्यारा सडकमा मोटरसाइकल चलाउन सहज बनाउने कम्पनीको अपेक्षा छ ।
मोटरसाइकलमा गोलाकार हेडलाइट, अग्लो मिरर, अपराइट ह्यान्डलबार र खुला डिजाइनको संरचना दिइएको छ । यी विशेषताले यसको स्क्र्याम्बलर लुकलाई थप आकर्षक बनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया