हाइब्रिड गाडीको बलियो मागले चम्कियो टोयोटा, सेयर मूल्यमा ऐतिहासिक उछाल

लोकपथ
0
Shares

काठमाडौं । जापानी अटोमोबाइल कम्पनी टोयोटा मोटर कर्पोरेसनको सेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

हाइब्रिड गाडीको माग बढेसँगै कम्पनीले वार्षिक नाफाको अनुमान बढाएपछि टोयोटाको सेयर मूल्य सन् १९८७ यताकै उच्च दरले बढेको हो ।

कम्पनीले आगामी मार्चमा समाप्त हुने आर्थिक वर्षका लागि सञ्चालन नाफाको अनुमान १५ प्रतिशतले बढाएर ३९ खर्ब येन पुर्‍याएको छ । त्यस्तै, सेप्टेम्बरसम्मको तीन महिनामा कम्पनीको आम्दानी ३४ प्रतिशतले बढेर १.१ खर्ब येन पुगेको छ । यो बजार विश्लेषकहरूको अनुमानभन्दा बढी हो ।

लगातार छ त्रैमासिकसम्म नाफामा गिरावट आएपछि टोयोटाले पहिलोपटक सकारात्मक नतिजा सार्वजनिक गरेको हो । कम्पनीको वित्तीय अवस्था सुधारिएसँगै लगानीकर्ताको विश्वास बढेको छ ।

यसको प्रभाव टोकियो सेयर बजारमा देखिएको छ। बिहीबार टोयोटाको सेयर मूल्य १६ प्रतिशतभन्दा बढीले बढेको छ । यो सन् १९८७ पछिको एकै दिनमा भएको सबैभन्दा ठूलो वृद्धि हो ।

कम्पनीले सेयरधनीलाई थप लाभ दिने उद्देश्यले सेयर खरिद फिर्ता कार्यक्रमको आकार पनि बढाएको छ । अब यस कार्यक्रमअन्तर्गत १.३ खर्ब येनसम्मको सेयर खरिद गरिनेछ । साथै, आगामी पाँच वर्षमा सेयरधनीलाई प्रतिफल दिन १४ खर्ब येनसम्म छुट्याउने योजना बनाएको छ ।

टोयोटाका प्रमुख लेखा अधिकृत ताकानोरी अजुमाका अनुसार कच्चा पदार्थको मूल्य बढ्नु र मध्यपूर्वको द्वन्द्वले पारेको प्रभावलाई कम्पनीले खर्च कटौतीका उपायमार्फत कम गरेको छ ।

यद्यपि, चीन तथा अन्य अन्तर्राष्ट्रिय बजारमा चिनियाँ अटोमोबाइल कम्पनीहरूसँगको प्रतिस्पर्धा टोयोटाका लागि चुनौती बनेको छ । विशेषगरी चीनमा विद्युतीय गाडी निर्माता कम्पनी बीवाईडी लगायतका स्थानीय ब्रान्डको प्रभाव बढ्दै गएको छ ।

यसैलाई ध्यानमा राख्दै टोयोटाले विद्युतीय गाडी उत्पादनमा जोड दिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?