मलेसियामा लोकप्रिय प्रोटोन ई.मास ५ नेपालमा पनि उपलब्ध, मूल्य कति ?

लोकपथ
0
Shares

काठमाडौं । मलेसियाको विद्युतीय सवारी बजारमा प्रोटोनको ई.मास ५ लोकप्रिय मोडलका रूपमा स्थापित भएको छ । सन् २०२६ को अक्टोबर महिनामा यो मलेसियामा सबैभन्दा धेरै दर्ता हुने विद्युतीय गाडी बनेको हो ।

अक्टोबरमा ई.मास ५ का २ हजार २६२ वटा गाडी दर्ता भएका छन् । यो महिनाभर मलेसियामा दर्ता भएका कुल विद्युतीय गाडीको ४९.३ प्रतिशत हो । समग्र ईभी बजारमा गिरावट देखिए पनि ई.मास ५ ले भने आफ्नो बलियो उपस्थिति कायम राखेको छ ।

अक्टोबरमा मलेसियाभर कुल ४ हजार ५९२ वटा विद्युतीय गाडी दर्ता भएका थिए । यो संख्या अघिल्लो महिना सेप्टेम्बरको तुलनामा २३.८ प्रतिशत कम हो । गत फेब्रुअरीयताकै सबैभन्दा कम विद्युतीय गाडी दर्ता भएको महिना पनि अक्टोबर बनेको छ ।

प्रोटोनको अर्को विद्युतीय मोडल ई.मास ७ ले पनि बजारमा राम्रो प्रदर्शन गरेको छ । अक्टोबरमा यस मोडलका ५५४ वटा गाडी दर्ता भएका छन् । ई.मास ५ र ई.मास ७ दुवैको संयुक्त बजार हिस्सा ६१.३ प्रतिशत पुगेको छ ।

यद्यपि, मलेसियामा पूर्ण विद्युतीय गाडीको तुलनामा हाइब्रिड सवारीप्रतिको आकर्षण पनि बढ्दो देखिएको छ । अक्टोबरमा त्यहाँ ५ हजार २३ वटा हाइब्रिड गाडी दर्ता भएका छन्, जुन पूर्ण विद्युतीय गाडीको कुल दर्ताभन्दा बढी हो ।

मलेसियामा लोकप्रियता हासिल गरिरहेका प्रोटोनका यी दुवै विद्युतीय मोडल नेपाली बजारमा समेत उपलब्ध छन् । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रालि नेपालका लागि प्रोटोनको आधिकारिक वितरक हो ।

नेपाली बजारमा प्रोटोन ई.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा बिक्री हुँदै आएको छ । ८५ किलोवाटको मोटर, ४० किलोवाट आवरको ब्याट्री र रियर ह्विल ड्राइभ सिस्टम रहेको यस गाडीमा १४.६ इन्चको टचस्क्रिन, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो सुविधा उपलब्ध छन् । यसको सुरुवाती मूल्य ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, ई.मास ७ पनि प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा ४१० किलोमिटरसम्म रेन्ज दिन्छ । यसमा १५.४ इन्चको टचस्क्रिन, १६ वटा स्पिकरयुक्त साउन्ड सिस्टम, एप्पल कारप्ले, एन्ड्रोइड अटो र हेडअप डिस्प्ले लगायतका सुविधा छन् । यसको मूल्य ४९ लाख ९९ हजार रुपैयाँबाट सुरु हुन्छ ।

जगदम्बा मोटर्सले नेपाली बजारमा प्रोटोनका विद्युतीय गाडीको बिक्रीसँगै सेवा सञ्जाल विस्तारलाई समेत प्राथमिकता दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?