बीवाईडीको नयाँ इलेक्ट्रिक एसयूभी डेन्जा एन८ सार्वजनिक, यस्तो छ विशेषता

लोकपथ
21
Shares

काठमाडौं । चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी बीवाईडीको प्रिमियम ब्रान्ड डेन्जाले नयाँ विद्युतीय एसयूभी ‘एन८’ सार्वजनिक गरेको छ । कम्पनीले नोभेम्बर १२ मा यो गाडी औपचारिक रूपमा बजारमा ल्याएको हो । यसअघि अक्टोबर २६ देखि नै यसको बुकिङ खुला गरिएको थियो ।

नयाँ डेन्जा एन८ आकर्षक डिजाइन, विलासी सुविधा र शक्तिशाली मोटरका कारण चर्चामा आएको छ । कम्पनीका अनुसार यसको सबैभन्दा ठूलो ब्याट्री भएको संस्करणले एक पटक पूर्ण चार्ज गर्दा सीएलटीसी मापदण्डअनुसार १ हजार ३ किलोमिटरसम्म यात्रा गर्न सक्छ ।

यो एसयूभीमा १३०.१५ किलोवाट आवर क्षमताको दोस्रो पुस्ताको ब्लेड ब्याट्री प्रयोग गरिएको छ । डब्ल्युएलटीपी मापदण्डअनुसार भने यसको रेन्ज करिब ८१२ किलोमिटर रहेको छ । यसबाहेक ९७०, ८४० र ८०० किलोमिटर रेन्ज दिने अन्य ब्याट्री विकल्प पनि उपलब्ध हुनेछन् ।

डेन्जा एन८ रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ गरी दुई प्रकारमा उपलब्ध हुनेछ । यसको सिंगल मोटर संस्करणमा ३२० किलोवाट र ३७० किलोवाट क्षमताका विकल्प छन् ।

त्यस्तै, तीनवटा मोटर भएको संस्करणमा अगाडि एउटा र पछाडि दुईवटा मोटर जडान गरिएको छ । यसको संयुक्त शक्ति ८९० किलोवाट अर्थात् १ हजार १९३ हर्सपावर पुग्छ ।

गाडीको बाहिरी डिजाइनमा स्प्लिट एलईडी हेडलाइट, आकर्षक बम्पर, अगाडि सामान राख्न मिल्ने छुट्टै ठाउँ र लामो टेललाइट राखिएको छ । यसको लम्बाइ ५ हजार १५० मिलिमिटर, चौडाइ १ हजार ९९९ मिलिमिटर र उचाइ १ हजार ८२० मिलिमिटर छ। यसमा २० र २१ इन्चका पाङ्ग्राको विकल्प दिइएको छ ।

गाडीको भित्री भागलाई पनि आधुनिक र विलासी बनाइएको छ । यसमा ३० इन्चको प्यानोरामिक स्क्रिन र १.१ मिटर चौडा इन्टिग्रेटेड स्क्रिन राखिएको छ । प्रिमियम छाला र काठको बनावटसहितको सजावटले यसको क्याबिनलाई आकर्षक बनाएको छ ।

यात्रुको आरामका लागि यसमा चारवटा जिरो ग्राभिटी सिट राखिएका छन् । सबै सिटमा भेन्टिलेसन, हिटर र मसाजको सुविधा उपलब्ध छ । अगाडिका सिटलाई १६५ डिग्री र पछाडिका सिटलाई १४६ डिग्रीसम्म ढल्काउन सकिन्छ ।

त्यस्तै, ५० वाटका दुईवटा वायरलेस चार्जिङ प्याड, साउन्ड सिस्टम, पछाडिका यात्रुका लागि मनोरञ्जन स्क्रिन र फ्रिजसमेत उपलब्ध छन् । चालकलाई सवारी सञ्चालनमा सहयोग गर्ने ‘गोड्स आई ५.०’ ड्राइभर असिस्टेन्स प्रणाली पनि यसमा समावेश गरिएको छ ।

सवारीलाई सहज र स्थिर बनाउन यसमा इन्टेलिजेन्ट एयर सस्पेन्सन र रियर ह्वील स्टेरिङ प्रणाली जडान गरिएको छ । कम्पनीले आगामी दिनमा यस मोडलको प्लगइन हाइब्रिड संस्करण पनि सार्वजनिक गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?