जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संघीयतालाई थप बलियो र प्रभावकारी बनाउन राष्ट्रियस्तरमा व्यापक छलफल तथा राजनीतिक सहमति आवश्यक रहेको बताएका छन् ।
रास्वपा नेता तथा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सुरु गरेको मेची–महाकाली पदयात्राको जनकपुरधामस्थित जानकी मन्दिरमा शुभारम्भ गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।
उनले संघीयताको मर्मअनुसार प्रदेश संरचनालाई व्यवस्थित गर्दै तीनै तहका सरकारलाई अधिकार सम्पन्न र जिम्मेवार बनाउनुपर्नेमा जोड दिए । संघीयता कुनै एक राजनीतिक दलको मात्र विषय नभई मुलुकको शासन व्यवस्था र नागरिकको अधिकारसँग जोडिएको विषय भएकाले सबै दलबीच साझा समझदारी आवश्यक रहेको उनको भनाइ थियो ।
लामिछानेले संघीयता बलियो बनाउन र प्रदेश संरचनालाई व्यवस्थित गर्ने विषयमा आफ्नो पार्टीले राष्ट्रिय बहस अघि बढाउने तयारी गरिरहेको बताए । सबै राजनीतिक दलसँग सहकार्य गरी सहमतिका आधारमा आवश्यक सुधारका काम अघि बढाउने उनले उल्लेख गरे ।
उनले स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाई जनताको सबैभन्दा नजिकको सरकारका रूपमा सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने बताए । कानुनी तथा संरचनागत सुधारमार्फत नागरिकलाई वास्तविक अर्थमा अधिकार सम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले मधेस प्रदेशका समस्या, आवश्यकता र प्राथमिकतालाई ध्यान दिनुपर्ने धारणा राखे ।
यसैगरी, लामिछानेले मेची–महाकाली पदयात्राले हिमाल, पहाड र तराईबीच भावनात्मक सम्बन्ध बलियो बनाउँदै राष्ट्रिय एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे ।
पदयात्रा अभियन्ता तथा सांसद अमरेशकुमार सिंहले सामाजिक सद्भाव कायम राख्ने, राष्ट्रिय एकताको भावना बढाउने र आम नागरिकका समस्या नजिकबाट बुझ्ने उद्देश्यले यात्रा सुरु गरिएको बताए । यात्राका क्रममा मुलुकको वर्तमान अवस्था, नागरिकका अपेक्षा र विभिन्न क्षेत्रका समस्याबारे प्रत्यक्ष जानकारी लिने उनको भनाइ थियो ।
सिंहका अनुसार पदयात्राका क्रममा दैनिक २० देखि २५ किलोमिटरसम्म पैदल यात्रा गरिनेछ । जानकी मन्दिरबाट सुरु भएको यात्रामा मधेससहित देशका विभिन्न भूभागका नागरिकसँग प्रत्यक्ष संवाद तथा अन्तरक्रिया गरिनेछ ।
उनले पदयात्रा भौगोलिक दूरी पार गर्ने अभियान मात्र नभई हिमाल, पहाड र तराईका नागरिकबीच आपसी सम्बन्ध, सद्भाव र एकताको सन्देश फैलाउने अभियानसमेत भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया