काठमाडौं । नेपालले प्राप्त गर्ने वैदेशिक सहायता प्रतिबद्धता साढे तीन गुणाले घटेको छ । अर्थ मन्त्रालयको विवरणअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनामा नेपालले दुई अर्ब २० करोड ३८ लाख रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ ।
गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा नेपालले आठ अर्ब ६ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको थियो । यस वर्षको साउनमा प्राप्त सबै सहायता प्रतिबद्धता अनुदानका रूपमा रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
चालु आर्थिक वर्षको साउनमा प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामध्ये सबैभन्दा बढी कृषि क्षेत्रमा रहेको छ । कुल प्रतिबद्धताको ७० प्रतिशत कृषि क्षेत्रमा प्राप्त भएको छ । त्यस्तै, शिक्षा क्षेत्रमा १७.४ प्रतिशत र अन्य क्षेत्रमा १२.७ प्रतिशत प्रतिबद्धता प्राप्त भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा भने ऊर्जा क्षेत्रमा सबैभन्दा बढी ८४.४ प्रतिशत वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको थियो ।
यसैबीच, चालु आर्थिक वर्षको साउन महिनामा नेपालले तीन अर्ब ५३ करोड ८३ लाख रुपैयाँ बराबरको वैदेशिक सहायता नगद प्राप्त गरेको छ । यसमध्ये २४ करोड तीन लाख रुपैयाँ अनुदान र तीन अर्ब २९ करोड ८० लाख रुपैयाँ ऋण रहेको छ ।
गत आर्थिक वर्षको साउनमा नेपालले ४२ करोड १९ लाख रुपैयाँ वैदेशिक अनुदान र चार अर्ब ५७ करोड ४८ लाख रुपैयाँ वैदेशिक ऋण प्राप्त गरेको थियो ।
चालु आर्थिक वर्षका लागि सरकारले ६१ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ वैदेशिक अनुदान र दुई खर्ब ४८ अर्ब २८ करोड रुपैयाँ वैदेशिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया