किसानलाई दूधको उचित मूल्य छैन, उपभोक्तालाई महँगो

लोकपथ
0
Shares

दाङ । दाङका दुग्ध उत्पादक किसानले मेहनत र लगानीअनुसार दूधको मूल्य पाउन नसक्दा समस्या भोग्नुपरेको छ । पशुपालनमा दाना, चोकर, घाँस, औषधि तथा पशु उपचारमा खर्च बढ्दै गए पनि दूधको मूल्य सोहीअनुसार वृद्धि नहुँदा किसान मारमा परेका हुन् ।

दूध उत्पादन गर्ने किसानले न्यून मूल्य पाउने तर उपभोक्ताले भने तुलनात्मक रूपमा महँगो मूल्य तिर्नुपर्ने अवस्थाले दूधको मूल्य शृङ्खलामा समस्या देखिएको छ । किसानहरूले उत्पादनदेखि उपभोक्तासम्म पुग्दाको लागत र मुनाफाको पारदर्शी विवरण सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।

घोराही उपमहानगरपालिका–२ रामपुरमा ग्रिन लक्ष्मी गाई तथा भैँसी फार्म सञ्चालन गर्दै आएका गोपाल खनालले दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गर्दै आएका छन् । उत्पादित दूधमध्ये करिब ६५ लिटर डेरीलाई बिक्री गर्ने गरेका उनले बाँकी दूध घरघरमा पुगेर उपभोक्तालाई बिक्री गर्दै आएका छन् ।

खनालका अनुसार डेरीलाई बिक्री गर्दा भैँसीको दूधको प्रतिलिटर ७५ रुपैयाँभन्दा बढी र गाईको दूधको प्रतिलिटर ६५ रुपैयाँभन्दा बढी मूल्य पाउन कठिन छ । तर, डेरी व्यवसायीले त्यही दूध उपभोक्तालाई प्रतिलिटर एक सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन् ।

गाई र भैँसीको दूध उत्पादन लागत फरक भए पनि उपभोक्ताले भने दुवै प्रकारको दूधका लागि करिब समान मूल्य तिर्नुपर्ने अवस्था रहेको खनाल बताउँछन् । दूधको मूल्य निर्धारण गर्दा किसानलाई सहभागी नगराइने गरेको उनको गुनासो छ ।

दाना, चोकर, घाँस, औषधि तथा पशु उपचारमा लाग्ने खर्च बढ्दै गए पनि किसानले पाउने दूधको मूल्य अपेक्षित रूपमा वृद्धि हुन नसकेको उनले बताए । उत्पादन लागत बढ्दा किसानको आम्दानी घट्ने अवस्था आएको उनको भनाइ छ ।

किसानले उत्पादन लागतअनुसार दूधको मूल्य नपाइरहेका बेला डेरी व्यवसायीले भने दूधबाट बन्ने दही, पनिर र घिउको मूल्य बढाएका छन् । व्यवसायी समिति घोराहीले असोज १५ गतेदेखि लागू हुने गरी ती वस्तुको मूल्य वृद्धि गरेको हो । लागत बढेको कारण देखाउँदै व्यवसायीले मूल्य समायोजन गरेका हुन् ।

हाल घोराहीमा दहीको मूल्य प्रतिलिटर १४० रुपैयाँ, पनिरको प्रतिकिलो ९०० रुपैयाँ र घिउको प्रतिकिलो एक हजार ४५० रुपैयाँ कायम गरिएको छ ।

घोराहीका अर्का एक किसानले प्रतिलिटर ७० देखि ७५ रुपैयाँसम्ममा दूध बिक्री गर्दै आएको बताएका छन् । मोटरसाइकलमा आफैँ दूध सम्बन्धित स्थानसम्म पुर्‍याउने भएकाले उक्त मूल्य पाउने गरेको उनको भनाइ छ । तर, दूध बजारसम्म पुर्‍याउँदा लाग्ने यातायात खर्च, समय र श्रमसमेत हिसाब गर्दा वास्तविक आम्दानी अझ कम हुने उनले बताए ।

पशुपालनका लागि आवश्यक दाना, औषधि, श्रमिक, विद्युत्, पानी तथा पशु स्वास्थ्य सेवाको लागत निरन्तर बढिरहेको किसानहरूको भनाइ छ । तर, दूधको मूल्य निर्धारणमा आफूहरूको भूमिका कमजोर हुँदा लगानी र मेहनतअनुसार प्रतिफल पाउन नसकेको उनीहरूको गुनासो छ ।

किसानहरूले दूधको मूल्य निर्धारण गर्दा वैज्ञानिक रूपमा उत्पादन लागत गणना गर्नुपर्ने, मूल्य निर्धारण प्रक्रियामा किसानको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने र बजारसम्म दूध पुर्‍याउँदा लाग्ने खर्चको समेत मूल्याङ्कन गर्नुपर्ने माग गरेका छन् ।

किसानलाई पशुपालनमा प्रोत्साहन गर्न उत्पादन लागतअनुसार उचित मूल्य सुनिश्चित गर्नुपर्ने उनीहरूको जोड छ । किसानले कम मूल्य पाउने र उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न दूधको मूल्य शृङ्खलामा पारदर्शिता कायम गर्नुपर्ने उनीहरूको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?