बंगालको खाडीमा बन्यो चक्रवात ‘अर्नब’, नेपालमा कस्तो पर्ला असर ?

लोकपथ
0
Shares

काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले नेपालमा बिहीबारदेखि वर्षा हुने सम्भावना रहेको छ ।

चक्रवातको प्रभावका कारण देशका विभिन्न स्थानमा भारी वर्षा र हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ ।

भारत मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत भएको हो । उक्त चक्रवातको नाम ‘अर्नब’ राखिएको छ । यसको नाम बंगलादेशले प्रस्ताव गरेको हो ।

पर्यावरण तथा मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार चक्रवात मंगलबार दिउँसो भारतको आन्ध्र प्रदेश र ओडिसाको तटीय क्षेत्रमा पुग्ने अनुमान गरिएको छ । त्यसपछि अन्य वर्षा प्रणालीसँग मिसिएर यो उत्तरतर्फ अघि बढ्ने सम्भावना छ ।

उपाध्यायले चक्रवातको प्रभाव बुधबार रातिसम्म नेपालमा देखिन सक्ने बताएका छन् । उनका अनुसार बिहीबारदेखि देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना छ ।

विशेषगरी बिहीबार मध्याह्नदेखि शुक्रबार रातिसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भागमा विशेष सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।

चक्रवातको प्रभावले केही स्थानमा भारी वर्षा हुनुका साथै हिमाली क्षेत्रमा व्यापक हिमपात हुन सक्ने अनुमान गरिएको छ । सम्भावित वर्षा र हिमपातबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै नागरिकलाई सतर्क रहन र आवश्यक सुरक्षा उपाय अपनाउन मौसमविद् उपाध्यायले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?