ग्लोबल आइएमई बैंकले लगातार तेस्रो पटक पायो ‘बेस्ट बैंक’ अवार्ड

लोकपथ
63
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सन् २०२६ को ‘बेस्ट बैंक अवार्ड’ प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ ले प्रदान गर्ने यो अवार्ड बैंकले लगातार तेस्रो वर्ष प्राप्त गरेको हो ।

बैंकले यसअघि सन् २०२४ र २०२५ मा पनि यो अवार्ड प्राप्त गरेको थियो । थाइल्याण्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दिपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए ।

ग्लोबल फाइनान्सले बैंकको वित्तीय स्रोत परिचालन गर्ने क्षमता, विश्वसनीयता, शाखा तथा डिजिटल सेवाको विस्तार, ग्राहकलाई दिइने सेवा, नयाँ प्रविधिको प्रयोग र जोखिम व्यवस्थापनलगायतका आधारमा यो अवार्ड प्रदान गरेको जनाएको छ । बैंकले कृत्रिम बौद्धिकता ९एआई० को प्रयोग, दिगो कर्जा प्रवाह र व्यावसायिक साझेदारीलाई पनि प्राथमिकता दिएको छ ।

अवार्ड वितरण समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वका विभिन्न देशका प्रमुख बैंक तथा वित्तीय संस्थालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा चीनको बैंक अफ चाइना र आइसीबीसी, भारतको स्टेट बैंक अफ इन्डियालगायत बैंकले विभिन्न विधामा अवार्ड प्राप्त गरेका थिए ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यो अवार्ड प्राप्त गर्ने पहिलो नेपाली बैंक हो । बैंकले यसअघि सन् २०१४ मा ‘बैंक अफ द इयर’, सन् २०१६ मा ‘बेस्ट इन्टरनेट बैंक’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ ।

त्यस्तै, बैंकले सन् २०२२, २०२४ र २०२५ मा युरोमनी अवार्ड फर एक्सिलेन्स तथा सन् २०२४ मा बेस्ट बैंक ईएसजी नेपाललगायतका सम्मान पनि प्राप्त गरेको छ ।

ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र तथा ६९ एक्सटेन्सन र राजस्व सङ्कलन काउन्टरमार्फत सेवा दिँदै आएको छ । यसका साथै बैंकका विदेशमा तीनवटा प्रतिनिधि कार्यालय छन् ।

बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका देशबाट औपचारिक माध्यममार्फत नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ । यसबाट देशको अर्थतन्त्रमा योगदान पुगेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?