काठमाडौं । नेपालका लागि टीभीएसका दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘अपाचे रेसिङ क्वालिफायर्स’को बुटवल चरण सम्पन्न गरेको छ ।
तिलोत्तमास्थित गौराङ्ग ट्रयाक सेन्टरमा टीभीएसको आधिकारिक डिलर बालाजी अटोमोबाइल्ससँगको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा बुटवल क्षेत्रका चालक, खेलप्रेमी तथा नयाँ प्रतियोगीहरूको सहभागिता थियो ।
आयोजकका अनुसार चालकहरूको उत्साह धेरै देखिएपछि सहभागिता ७६ जनामा सीमित गरिएको थियो । यसले बुटवल क्षेत्रमा मोटरस्पोर्ट्सप्रतिको आकर्षण बढ्दै गएको देखाएको कम्पनीले जनाएको छ ।
प्रतियोगिताअघि नेपालका पूर्व विजेता सुजन थापा मगर र चार पटकका राष्ट्रिय च्याम्पियन नवाङ मोक्तानले सहभागीलाई प्रशिक्षण दिएका थिए । उनीहरूले सवारी सन्तुलन, मोड काट्ने तरिका, गति नियन्त्रण र सुरक्षाका विषयमा प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणपछि १६० सीसी वर्गमा प्रतिस्पर्धात्मक दौड आयोजना गरिएको थियो। जसमा धीरज विश्वकर्मा ३४।०७ सेकेन्डमा दूरी पार गर्दै प्रथम भए । अभिषेक पन्थी ३४।६२ सेकेन्डमा दोस्रो र अरिक श्रेष्ठ ३४।८७ सेकेन्डमा तेस्रो भए ।
तीनै जना विजेताले अब काठमाडौं, नेपालगञ्ज, इटहरी र पोखराका उत्कृष्ट प्रतियोगीसँग राष्ट्रिय स्तरको फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
कार्यक्रममा सहभागीलाई कदरपत्र तथा विजेतालाई सम्मान गरिएको थियो । बालाजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक विशाल जैसवालले बुटवलमा देखिएको उत्साहले मोटरस्पोर्ट्सप्रति युवाको आकर्षण बढ्दै गएको बताए ।
राष्ट्रिय फाइनलमा विजयी हुने प्रतियोगीले भारतको मद्रासस्थित अन्तर्राष्ट्रिय खेलमैदानमा नेपालको प्रतिनिधित्व गर्दै ५० भन्दा बढी देशका प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि यात्रा तथा आवासको खर्च जगदम्बा मोटर्स र मुख्य उत्पादन कम्पनीले व्यहोर्ने जनाएको छ ।
जगदम्बा मोटर्सले नेपालमा सुरक्षित तथा व्यावसायिक मोटरस्पोर्ट्स संस्कृतिको विकास गर्ने उद्देश्यले ‘अपाचे रेसिङ क्वालिफायर्स’ सञ्चालन गर्दै आएको छ । अभियानमा खुला तालिम, क्षेत्रीय छनोट र राष्ट्रिय फाइनल गरी तीन चरण रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया